कर्णालीबाट उदाएकी गीता !

काठमाडौं । नेपाली महिला फुटबलकी एक सफल खेलाडी हुन् गीता राना । उनले नेपाली महिला फुटबलका लागि जे जति गरेकी छन् सायदै कुनै खेलाडीका लागि यो सफलता हात पर्न सक्छ । गीताले राष्ट्रिय टोलीका लागि खेल्न लागेको समयदेखि नै उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । उनले फुटबलमा लामो समय बिताएकी छन् । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका लागि खेल्ने उनी कर्णालीकी पहिलो फुटबल खेलाडी हुन् ।

कर्णालीमा पनि खेलकुद धेरै पछिको कुरा हो । भौगोलिक विकटता र अभावले भरिएको कर्णाली खेलकुद क्षेत्रमा पनि निकै पछि छ । त्यसको गतिलो उदाहरण हो लुम्बिनी प्रदेशमा सम्पन्‍न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णविहीन हुनु । कर्णाली प्रदेश आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदकविहीन बन्यो । यसमा स्वर्णविहीन हुने कर्णाली प्रदेश एक्लो हो ।

यसको मतलब खेलकुदको सम्भावना नभएको भने होइन । थोरै मात्र लगानी गर्ने र नतिजा खोज्‍ने प्रवृत्तिमा खेलाडी पिल्सिरहेका बेला कर्णालीलाई पनि त्यसैको असर छ । सरकारको लगानी न्यून रहे पनि कर्णालीले राष्ट्रिय खेलाडी उत्पादनमा भने कुनै कसुर बाँकी राखेको छैन । देश विदेशमा नेपालको झण्डा फहराएका धावक हरि रोकाया, विश्‍वरुपा बुढा र फुटबलका रोहित चन्दलगायत धेरै खेलाडी कर्णालीले जन्माएको छ ।

जसमध्ये गीता राना पनि एक हुन् । महिला फुटबलतर्फ प्रतिनिधित्व गर्ने खेलाडी गीता पनि कर्णालीकै चेली हुन् । २०५३ सालमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जन्मिएकी गीताले विभिन्‍न बाधा र अवरोधबीच फुटबल यात्रा थालिन् । छोटो समयमै राष्ट्रियस्तरमा आफूलाई अब्बल प्रमाणित पनि गरिसकेकी छन् ।

अहिले उनी नेपाली राष्ट्रिय महिला फुटबलको प्रतिनिधित्व गर्ने कर्णालीकी एकमात्र खेलाडी हुन् । २०१६ मा भारतमा सम्पन्‍न चौथो साफ च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी उनी त्यसपछि निरन्तर टोलीमा छिन् । उनले राष्ट्रिय टोलीका लागि खेलेको समयदेखि पछाडि फर्केर हेर्नुपरको छैन ।

सुर्खेतमा जन्मिएकी गीतालाई सुरुवाती चरणमा फुटबल खेल्दा देशको लागि केही गर्न सकिन्छ भन्ने लागेको थिएन । त्यसो त सुर्खेतमा जिल्लास्तरीय लिग भएपछि विद्यालयस्तरीय र अन्य जिल्लामा फुटबल खेल्नेमा मात्र सीमित हुन्थे खेलाडी । न त राष्ट्रिय टोलीमा छानिन्थे न त राष्ट्रियस्तरमा प्रदर्शन गर्ने अवसर नै पाउँथे ।

“सुरुमा बल लिन्थेँ, खेल्थेँ, कोही नभएपछि एक्लै बाटोमा या सानो ठाउँमा खेल्थेँ । फुटबलमा सानैदेखि सोख थियो । देशका लागि पनि खेल्न पाउँछु भन्‍ने थिएन । सुर्खेतमा ठूलो प्रतियोगिता पनि हुँदैन थिए । न त कुनै ठूला खेलाडी खेल्नका लागि त्यहाँ आउने गर्थे,” गीताले सुरुवाती दिन सम्झँदै भनिन् ।

उनी अहिले विभागीय क्लब एपीएफमा आबद्ध छिन् । उनको प्रदर्शनलाई देखेर एपीएफका प्रशिक्षक प्रेम श्रेष्ठले क्लबमा बोलाएका थिए । एसएलसीपछि काठमाडौंको यात्रा तय गरेकी गीतालाई राष्ट्रिय जर्सी लगाउने औधी रहर थियो । उनले भनिन्, “काठमाडौं आउँदा ठाउँबारे अन्जान थिएँ । फुटबलबारे पनि धेरै ज्ञान थिएन । एकमनले सोच्यो यो भिडमा टिक्न सकिन्छ होला र ? अर्को मनले भनिरहेको थियो आफ्नो क्षमतालाई सहि सदुपयोग गर्न सकेँ भने के नै असम्भव छ र ! सुरुमै मनलाई कमजोर बनाउने काम मैले गरिनँ,” गीताले भनिन् ।

इलाममा भएको एक प्रतियोगिताले २०७० मा एपीएफ यात्रा तय गरेकी गीता फुटबल करिअरको सुरुमा गोलकिपर बस्थिन्, “कुन पोजिसनबाट आफूलाई खेल्दा उपयुक्त हुन्छ भन्‍ने सबै जानकारी थिएन । किपर बसेँ । पछि एपीएफमा आइसकेपछि स्ट्राइकरको पोजिसनमा खेलेँ । विङ्‍गर हुँदै अहिले डिफेन्डरका रुपमा खेल्छु,” गीताले भनिन् ।

अहिले जुन पोजिसनमा खेल्दा पनि फिट हुने गीताले बताइन् । “जुन पोजिसनबाट खेलाउँदा पनि हुन्छ । मैले जुनसुकै भूमिका पनि निभाउन सक्छु । मलाई दिएको अवसर सदुपयोग गर्ने कुरामा मेरो विशेष ध्यान हुन्छ । मैले जहिले पनि चाहनालाई त्यागेर अवसरलाई सदुपयोग गर्ने प्रयास गर्छु । त्यहीकारण आज अवस्थामा छु,” उनले भनिन् ।

चौथौ साफ च्याम्पियन्सिपपछि उनले राष्ट्रिय टोलीबाट बाहिर रहनुपरेको छैन । त्यति मात्र होइन, उनले हालसम्म राष्ट्रिय महिला फुटबल टोलीबाट सहभागिता जनाएका हरेक खेलहरुमा ९० मिनेट नै मैदानमा बिताएकी छन् । वैकल्पिक खेलाडीका रुपमा पनि बस्‍नुपरेको छैन ।

आठ वर्ष फुटबलमा जीवन बिताएकी गीताको सुरुवाती दिन भने संघर्षमा बित्यो । एपीएफबाट पाएको पाँच हजार पारिश्रमिकले काठमाडौंमा जम्‍न दुःख खपिन् । “मैले खेल जीवनको सुरु गर्दा धेरै संघर्ष गर्नुपरेको थियो । लाग्छ खेल जीवनपछिका बाँकी दिनहरु पनि त्यसरी नै बित्नेछन् । मैले खेलुन्जेलसम्म सरकारले गुजाराका लागि केही व्यवस्था गर्ने आशा गरेकी छु । खेल्न छाडेपछि भने अन्य खेलाडीजस्तै मेरो जीवन पनि संघर्षमै बिताउने पर्नेछ,” उनले दुखेसो पोखिन् ।