पुडासैनी प्रकरण : शालिकको मृ*त्यु पछि रविले किन भेट्न खोजेका थिए अस्मितालाई ?

काठमाडौं। साउन २० गते चितवन नारायणगढको कंगारु होटलमा माउन्टेल टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आ*त्म*ह*त्या भएपछि न्युज २४ बाट प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा जनतासँग’ का सञ्चालक रवि लामिछानेले पुडासैनीको प्रेमिका रुकु भनिने अस्मिता कार्कीलाई भेटेर अर्न्तवार्ता लिने प्रयास गरेको तथ्य भेटिएको छ ।

प्रहरी बयानका क्रममा क्यामेरामेन अनिल ढुंगेलले कार्यक्रम सञ्चालक रवि र कार्यक्रम निर्माता दिपक बोहोराले भनेपछि आफूले पुरानो चिनाजानीका आधारमा अस्मितासँग केही कुरा बुझ्न बारम्बार फोन गरेको बताएका छन् । उनले भनेका छन, ‘दिपक र रविले घटनाबारे के रहेछ अस्मितासँग बुझ्नुपर्‍यो भनेकाले मैले निज प्रतिवादी अस्मितालाई पटक–पटक कल गरेको हुँ ।’ एक/दुई दिन पछि दिपक र रवि अस्मितालाई भेटन बसुन्धाराको ग्रिन सिटी अस्पताल बाहिर पुगेर पटक-पटक फोन गरेको कुरा पनि अनिलले बताएका छन् ।

कान्तिपुरले यसअघि गरेको खोजमा पनि अस्मिताका नजिकका साथी र परिवारका सदस्यले न्युज २४ बाट तारन्तार फोन आएका बताएका थिए । निमोनियाको बिरामी आमाको उपचारमा व्यस्त अस्मितालाई रवि सहितको टिमले किन अन्तर्वार्ताका निम्ती बारम्बार प्रयास गरेको थियो भन्नेबारे भने बयानमा केही भेटिएका छैन ।

प्रहरी बयानमा क्यामेरामेन अनिलले भनेका छन्, ‘पटक–पटक फोन गर्दा पनि निजले रिसिभ नगरेपछि करिब एक घन्टामा फर्की आयौं । सो पश्चात निजसँग भेटघाट र कुराकानी भएको छैन ।’

त्यसो त पत्रकार शालिकरामले बारम्बार दुःख दिएपछि र सताएपछि अस्मिताले आफ्नो पीडा रविलाई भेटेर सुनाउने प्रयास गरेकी थिइन् । सोही क्रममा उनी अस्पतालमा कार्यरत एक स्टाफ नर्सको सहयोगमा क्यामेरमेन अनिलको सम्पर्कमा पुगेकी थिइन् ।

त्यसो त अस्मिताले पनि आफ्नो बयानका क्रममा शालिकको मृत्यु पछि अर्थात २१ गते दिउँसो साढे दुई बजेतिर न्युज २४ का अनिल ढुंगेल र दिपक बोहोराले पटक–पटक फोन गरी भेटन र ५ मिनेटको भएपनि भिडियो अर्न्तवार्ता दिन भनेको बताएकी छिन् । इकान्तिपुरबाट ।