पहिले पैसा बुझाउने, अनि मात्रै उपचार गरिने

नोवेल कोरोना भाइरस (कोभिड-१९) उपचार खर्च नव्यहोर्ने सरकारको निर्णय सरकारी अस्पतालहरूले कार्यान्वयन गर्न थालेका छन् ।

काठमाडौंस्थित सिभिल अस्पतालले संक्रमितहरूले आफैंले उपचार खर्च र खाना खर्च बेहोर्न कोरोना पीडितका नाममा सूचना जारी गरेको छ ।

अस्पतालद्वारा जारी सूचनामा भनिएको छ,’ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यस अस्पतालमा कोराना संक्रमण भई उपचाररत बिरामीहरुले कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ ।’

त्यतिमात्रै होइन, बिरामीलाई क्यान्टिनमा समेत तत्काल धरौटी रकम जम्मा गर्न भनिएको छ । अस्पतालको सूचनामा भनिएको छ,’खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ ।’

पहिले पैसा बुझाउने, अनिमात्रै उपचार

सरकारले २ कात्तिकपछि भर्ना भएका बिरामीको निःशुल्क उपचार नगर्ने भनेको छ । सिभिल अस्पतालद्वारा जारी सूचनामा पनि २ कात्तिकदेखि नै यो निर्णय लागु हुने भनिएको छ । तर, गतसाता नै भर्ना भएका बिरामीबाट पनि २५ हजारभन्दा बढी खर्च भएको भन्दै बिरामीसँग अस्पतालले रकम मागेको छ ।

अस्पतालमा रहेका कोरोनाका बिरामीबाट १० हजार रुपैयाँ डिपोजिट उठाउन थालिएको अस्पताल स्रोतले जानकारी दिएको छ । ‘माथिको आदेशअनुसारप्रति बिरामी १० हजार देखि १५ हजारसम्म रुपैयाँ उठाउन थालेका छौं’ अस्पतालका एक कर्मचारीले भने ।

अस्पतालका कार्यकारी निर्देशक डा. दीर्घराज आरसी आजदेखि भर्ना हुने संक्रमितले अनिवार्य रुपमा धरौटी राख्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘सरकारले बिरामीसँगै उपचार खर्च लिनु भनेकाले धरौटी लिएर मात्रै बिरामी भर्ना गर्छौ ।’