जसपाको संघीय परिषद अध्यक्ष भट्टराईलाई बनाउने तयारी

जनता समाजवादी पार्टीले नेता बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउने तयारी गरेको छ। आजदेखि सुरू हुने पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकमा भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउनेलगायत प्रस्तावमाथि छलफल हुँदैछ।

‘उहाँ (भट्टराई) लाई संघीय परिषद अध्यक्ष बनाउने हो,’ जसपाका एक नेताले भने, ‘आज र भोलि चल्ने बैठकले यसबारे छलफलपछि निर्णय गर्छ।’ तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरणपछि भट्टराई जसपामा वरिष्ठ नेताका रूपमा छन्। जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्ष छन्।

उनीहरू केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष रहने र भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउन लागिएको जसपाले जनाएको छ।
तुलसीलाल अमात्य प्रतिष्ठानमा आज केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। पार्टीका नेता केशव झाले दिएको जानकारीअनुसार पार्टीको विधान संशोधनलगायतका एजेन्डामाथि छलफल गर्न बैठक बोलाइएको हो।

‘बैठकमा विधान संशोधन, नियमावली, संघीय परिषद विस्तार, केन्द्रीय समिति विस्तार, कार्यकारिणी समितिको कार्यविभाजन र समायोजनलगायत एजेन्डामाथि छलफल हुन्छ,’ उनले भने।
केन्द्रीय समिति आठ सय १ र संघीय परिषद एक हजार दुई सय एक सदस्यीय बनाउन लागिएको झाले जानकारी दिए।
‘अहिले केन्द्रीय समिति सात सय एक र संघीय परिषद एक हजार एक सय एक सदस्यीय छ। अब एक/एक सय सदस्य थप गर्न लागेका हौं,’ उनले भने।

गत असार २५ गते निर्वाचन आयोगमा जसपा दर्ता भएको थियो।
गत वैशाख १० गते समाजवादी र राजपाबीच एकीकरण भएर जसपा पार्टी बनेको थियो। जसपामा वरिष्ठ नेताका रूपमा अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो छन्। पार्टी गठन भएको छ महिनामा पनि जसपाले नेताको व्यवस्थापन र केन्द्रीय तथा संघीय परिषदलाई पूर्णता दिन सकेको छैन। यस्तै प्रदेशदेखि तल्ला तहमा समायोजनका काम बाँकी छ।