शिलापत्र तोडफोड गर्न खोज्‍ने उपमेयर भन्छिन्- मेयरको पितृसत्ताविरुद्ध प्रहार गरेकी हुँ

कैलाली घोडाघोडी नगरपालिकामा मेयर ममताप्रसाद चौधरी र प्रेमकुमारी थापा एउटै पार्टीबाट चुनाव लडे । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट । दुवैले चुनाव जिते । संयोग नै मान्नुपर्छ, त्यतिबेला दुवैको प्रतिस्पर्धी माओवादी केन्द्र नै बन्यो ।

चुनाव जितुन्जेल सहयात्री बनेका चौधरी नगरप्रमुख बनेपछि एकाएक शासकमा रूपान्तरित भएको प्रेमकुमारी बताउँछिन् ।“जिम्मेवारीमा नपुग्दासम्म व्यक्तिको जाँच नहुँदो रहेछ । चुनाव जितेपछि उहाँको व्यक्तित्व अर्कै रहेछ, महिलालाई होच्याउने, हेप्ने, आफू शासक हुँ भन्ने, एकदम सामन्ती सोच र चिन्तन पो देखा पर्दै गयो,” उनको ठहर छ । विभिन्‍न कामहरूमा त्यो प्रतिच्छवित भएको उनी बताउँछिन् ।

“नगरवासी महिलाहरूलाई हेर्नुस्, हिजैको पनि भिडियो हेर्नुभयो भने सबै कुरा प्रस्ट हुन्छ,” उनी भन्छिन् । नगरपालिकाले करिब एक करोड ९२ लाख खर्च गरेर वडा नम्बर १२, ७ र ५ को तीनवटा भवन बनाएको थियो । लकडाउन अवधिमा द्रुत गतिमा काम भएकाले उद्घाटनको दिन घटस्थापना जुराइएको थियो ।

अघिल्लो दिन निमित्त प्रमुख कार्यकारी अधिकृत खगेन्द्रबहादुर सिंह र मेयर ममताप्रसाद चौधरीले विकास योजना अनुगन समितिको संयोजक उपमेयर हुने व्यवस्था रहेकाले निरीक्षणका लागि आग्रह गरेको प्रेमकुमारी बताउँछिन् । “नाप नक्साबमोजिम बनेको छ कि छैन भनेर इन्जिनियर, ओभरसियसहितको समूह लिएर अनुगमनमा निस्किएकी थिएँ,” उनी भन्छिन्, “१२ नम्बर कार्यालयको भवन निरीक्षण गर्न पुग्दा शिलालेख टाँसेको रहेनछ । ५ नम्बर वडा कार्यालयको भवनमा आउँदा टाँसिसकेको पाएँ । ७ नम्बर कार्यालयमा पनि त्यस्तै रहेछ । उद्घाटनकर्ता, मेयरको नाम त छुट्ने नै भएन । वडाका अरू पदाधिकारीहरूको नाम पनि रहेछ । तर मेरो नामचाहिँ नियतवश नै छुटाएको रहेछ ।”

उनले अनुगमनबाट फर्किएपछि मेयर ममताप्रसाद चौधरीलाई आफ्नो नाम छुटेको र राख्नुनपर्ने हो र भनेर सोधेको उनी बताउँछिन् । जवाफमा मेयरले छुटेको होइन, राख्नै नचाहेको हुँ भन्ने जवाफ दिएपछि आफू आक्रोशित बनेको उनले बताइन् ।

“उपमेयरको नाम छुटाउनु राम्रो कुरा होइन भनेर अरूले पनि भन्नुभयो, मैले पनि सोचविचार गरेँ, कार्यकारी अधिकृतलाई पनि सोधेँ,” उनी भन्छिन्, “उहाँ पनि झर्किनुभयो ।” शनिबार बिहान पनि मेयरको कार्यशैलीले नै घटना निम्त्याएको र आफूले आक्रोश थाम्न नसकेको उनी बताँउछिन् । अहिले सबैले उपमेयरको प्रस्तुति देखेर टिप्पणी गरेको र त्यसपछाडिको कारण बुझ्‍न नचाहेको उनको गुनासो पनि रहेछ ।

“शिलालेख सानो होस् या ठूलो त्यसमा नियत देखिन्छ । सोच प्रतिबिम्बित भएको हुन्छ । सबै मेयरको कार्यशैली, प्रवृत्तिले निम्त्याएको हो । उहाँको सोच नै त्यस्तै छ, त्यसको जवाफ त मिल्छ नि,” उनी आफ्नो कार्यशैलीको बचाऊ गर्दै भन्छिन्, “शिलापत्रमा के लेख्‍ने, के नलेख्‍ने भनेर सल्लाह गर्नुपर्छ । अरूको इतिहास मेटेर पुरुषले आफ्नो नाम लेखेपछि प्रतिवाद त हुन्छ नि ।”