मुटुमा प्वाल भएकी बालिकाको उपचारका लागि २५ हजार सहयोग

दोलखा सिंगटीकी ४२ वर्षिया पम्फा थापाको छोरीको मुटुको उपचारका लागि राष्टिय बाल अधिकार परिषद्ले २५ हजार नगद सहयोग गरेको छ ।

कोरोना महामारीपछि खुलामञ्चमा भात खान जाने गरेकी उनीसहित उनको तीन वर्षिय छोरीको मुटुमा प्वाल परेको र खुलामञ्चमा खाना खाएर उपचारका लागि गंगालाल जाने गरेको बारे असोज २५ मा समाचार प्रकाशित भएको थियो ।

समाचार प्रकाशित भएपछि परिषद्ले उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । परिषद्ले बालिकाको उपचार भइरहेको कागजात र नीजको आमा पम्फाको नेपाली नागरिक भएको प्रमाणित आवश्यक कागजात अध्ययन गरेर बालिकाको उपचारको लागि शुक्रबार सहयोग प्रदान गरेको हो ।

सहयोग रकम पाएपछि बलिकाकी आमा पम्फाले छोरीलाई महिना दिनमा एक पटक उपचारका लागि गंगालाल पुर्याउनु पर्ने र एक वर्ष भित्र मुटुको शल्यक्रिया गर्न डाक्टरले सुझाएको बताइन ।

उनले छोरीको उपचारका सहयोग गरेकोमा परिषद्लाई धन्यवाद दिदैं आफ्नो आर्थिक क्षमताले छोरीको उपचार गर्न नभ्याउँने भन्दै सहयोगका लागि सबैमा अपिल समेत गरेकी छिन ।