हिजोका माओवादीहरू झर्ला र खाउँला भन्दै ओलीको चरणमा लम्पसार छन्: बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माओवादीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको चरणमा लम्पसार परेको आरोप लगाएका छन्। ओलीले संघीयताको मर्म र भावनाअनुसार काम नगरे पनि हिजोका माओवादीहरू झर्ला र खाउँला भन्दै ओलीका चरणमा लम्पसार परेको भट्टराईको भनाइ छ।

प्रधानमन्त्री ओलीले प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हुन् भनेजसरी व्यवहार गरेको र उक्त अभिव्यक्ति शनिबार बालुवाटारमा कर्णाली प्रदेशका पार्टीका नेतासँग बताएको खबरहरू सार्वजनिक भइरहेका बेला भट्टराईले उक्त टिप्पणी गरेका छन्।

प्रदेशका नामाकरणमा पनि भट्टराईले यसअघिदेखि नै आपत्ति जनाउँदै आएका थिए। तत्कालीन माओवादीले भनेजस्तै जातका आधारमा प्रदेशको नाम हुनुपर्ने भट्टराईको भनाइ छ।

तर प्रदेशका नाम गण्डकी, बामगती, कर्णाली तथा लुम्बिनी राखिएकोमा भट्टराईले यस्तो हुनुमा प्रधानमन्त्री ओलीको आदेश रहेको आरोप लगाएका छन्।

‘प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हो’! अर्थात अहिलेको प्रदेश पंचायतकालको अंचल जस्तो मात्रै हो!,’ आइतबार ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘त्यसैले त बालुवाटार दरबारको आदेशमा वागमती/गण्डकी/कर्णाली/लुम्बिनी प्रदेश बनिरहेछन्!’

नेकपा अध्यक्षसमेत रहेका ओलीको कार्यशैलीप्रति पहिलेका माओवादीले फरक मत नराखेकोप्रति भट्टराईले व्यंग गर्दै थपेका छन्, ‘तैपनि हिजोका हाम्रा माओवादी कणहरू झर्ला र खाउँला भन्दै ओलीका चरणमा लम्पसार!’