अब सरकारी अस्पतालले पनि कोरोना सङ्क्रमितबाट उपचार खर्च लिने

सरकारले आइतबारदेखि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमितबाट उपचार खर्च असुल्ने भएको छ । स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार आइतबारदेखि सबै सरकारी तथा निजी अस्पतालमा कोरोना परीक्षण तथा उपचारका लागि शुल्क लिन थालेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आर्थिक रुपले विपन्न, असहाय, अशक्त, अति अपाङ्ग, ज्येष्ठ नागरिक, कोरोनाविरुद्ध अग्रपङ्क्तिमा काम गर्नेहरु, सरसफाइकर्मी र सुरक्षाकर्मीमा लक्षण देखिएमा परीक्षण र उपचार निःशुल्क गर्ने तर उनीहरुले बीमा गरेको भएमा बीमाबाट परीक्षण तथा उपचार खर्च कटाउने पनि मन्त्रालयले जनाएको छ ।

यस्तै सरकारले कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि सबै कोभिड अस्पताल तथा कोरोनाको उपचार गर्ने सूचीकृत अस्पतालको फार्मेसीबाट किन्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

यसैगरी यसअघि निजी तथा सामुदायिक अस्पतालले ५० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत शय्या कोरोना सङ्क्रमितको उपचारको लागि छुट्याउनुपर्ने व्यवस्था रहेकोमा अब सबै अस्पतालले ५० प्रतिशत शय्या कोरोना सङ्क्रमितको उपचारको लागि छुट्ट्याउनुपर्ने व्यवस्था गरेको छ ।