मुसामा कोरोना अध्ययन गर्दै नेपाली वैज्ञानिक

कुन–कुन प्रकारका जडीबुटी सेवन गर्दा कोरोना संक्रमितको शरीरमा प्रतिरोधात्मक क्षमता विस्तार हुन्छ भन्ने विषयमा नेपाली वैज्ञानिकहरूले मुसामाथि अध्ययन गर्ने भएका छन् । मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न जडीबुटीका १ सय ३६ वटा यौगिक पत्ता लागेका छन् । तीमध्ये ९३ वटा यौगिक कोरोना प्रजातिका अन्य भाइरस संक्रमण हुँदा प्रयोग भएको पाइएको छ ।

मानिसमा प्रयोग हुने औषधिको भ्याक्सिन तथा खोप निर्माण पूर्व विभिन्न क्लिनिकल ट्रायलका क्रममा संसारभर वैज्ञानिकहरू प्रायः मुसामा प्रयोग गर्छन् । हरेक स्तनधारी जीवमा रोगविरुद्ध प्रतिरोधात्मक क्षमता हुन्छ ।

मुसा स्तनधानी जीव हुनुका साथै शरीरका विभिन्न प्रणालीहरू मानिससँग मिल्दोजुल्दो भएकाले अनुसन्धानमा प्रयोग गरिएको डा. मरासिनीले बताए ।

‘जीवनचक्र छोटो र आकार सानो हुने भएकाले यसलाई सजिलैसँग ल्याबमा राख्न मिल्छ,’ उनले भने । यो अनुसन्धानमा स्विस एल्बिनोलगायतका मुसाको प्रयोग गरिने उनले बताए ।

मुसामा प्रतिरोधी क्षमता अनुसन्धान सम्बन्धीको परीक्षण एक महिनामा सकिने भनिए पनि कम्प्युटेसनल मोडलिङमा धेरै समय लाग्ने अनुमान छ । अनुसन्धानकर्ताहरूले रसायनशास्त्र विभागको लेभल २ वा ३ को बायो सेफ्टी ल्याबमा मुसाको परीक्षण गर्नेछन् ।

विभागमा भएको लेभल १ ल्याबलाई स्तरोन्नति गरेर लेभल २ वा ३ को बनाइनेछ । कम्प्युटर मोडलिङबाट कोरोनाका लागि प्रयोग हुन सक्ने सम्भावित जडीबुटीजन्य रसायनको पहिचान भएपछि त्यो मुसामा हालिन्छ ।

‘हामीले १ सय ३६ वटा यौगिक लिएर अनुसन्धान गर्दै छौं । कम्प्युटर मोडलिङबाट आउने उत्कृष्ट १० देखि २० सम्मका यौगिकहरू हामी प्रयोग गर्छौं,’ डा. पराजुलीले भने, ‘मानौं ए नाम गरेको यौगिक हालेपछि उक्त मुसाले कति मात्रामा एन्टिबडी उत्पादन गर्छर् भन्ने थाहा हुन्छ । जुन यौगिकका प्रयोग गर्दा धेरै मात्रामा उत्पादन गर्छ त्यही सम्भावित निष्कर्ष हुन्छ ।’