आज भियतनाम र इन्डोनेशिया भ्रमणमा निस्कँदै प्रधानमन्त्री

प्रधानमन्त्रीको कार्यभार सम्हालेसँगै विश्वभरभरका राजनितिक तथा कुटनितिक प्रमुखहरुसँग दिनहुँजसो विभिन्न कन्फ्रेन्सहरुमा ब्यस्त जापानी प्रधानमन्त्री योशिहिदे सुगा आइतबार आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणमा जानेभएका छन् । उनी आइतबार भियतनाम र इन्डोनेशियाको चार दिवसीय भ्रमणमा जान लागेका हुन् ।

भ्रमणका क्रममा सुगा भियतनामको हानोई जानेछन् र त्यहाँ भियतनामी प्रधानमन्त्री गुयन सुआन फुकसँग भेटवार्ता गर्ने छन् । त्यसपछि उनी इन्डोनेशियाको जाकर्तातर्फ लाग्नेछन्न्, त्यहाँ उनको भेट राष्ट्रपति जोको विडोडोसँग हुने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री सुगा निवर्तमान प्रधानमन्त्री सिन्जो आवेको विँडो थाम्न भरमग्दुर प्रयासमा छन् । यसपटकको विदेश भ्रमणको क्रममा पनि उनले स्वतन्त्र र खुला इण्डो प्रशान्त बारेमा छलफल गर्ने बताइएको छ । यस विषयमा यही अक्टोबर ६ तारिख टोकियोमा अमेरिका, अस्ट्रेलिया, जापान तथा भारतीय विदेशमन्त्रीस्तरीय भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री सुगाका यो पहिलो भ्रमणलाई बेइजिङसँगको सम्बन्धलाई जोडेर पनि व्याख्या र विश्लेषण हुन थालेका छन् । यद्यपि सरकारी अधिकारीहरुले यो भ्रमण चीनसँगको सम्बन्धमा नकारात्मक असर पार्ने खालको नभएकोमा जोड दिएका छन् ।

तथापि, एकातिर मुख्य सुरक्षा राष्ट्र अमेरिका अर्कोतिर विश्वको दोश्रो ठूलो आर्थिक शक्ति मुलुक चीनबीचको भुराजनैतिक सम्बन्धलाई तादात्म्यता राख्दै अगाडि बढ्नुपर्ने जापानको वर्तमान परिवेश विश्व राजनीतिक वृत्तमा निकै चासोको विषय बन्दै आएको छ ।

सरकारी स्रोतले जनाएअनुसार, यस भ्रमणको क्रममा भियतनामसँग प्रतिरक्षा उपकरण र प्रविधि स्थानान्तरणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन सक्ने सम्भावना छ भने इन्डोनेशियासँग त्यस्तो कुनै विशेष सम्झौता नभई वर्तमान कोरना भाइरस प्रकोपविरुद्ध लड्ने लगायतका विषयहरुमा छलफल हुनेछ ।