सबैभन्दा प्रिय लाग्छन् नेपाल प्रहरी

  • त्रिप्ती शाही 

घरकी जेठी छोरी, म ४ वर्षको छँदादेखि नै बुवाले आफू जता गयो उतै लैजाने गर्नुहुन्थ्यो रे । विस्तारै ठुली हुँदै जाँदा मैले यी सबै कुरा थाहा पाएँ, केहि आफन्तबाट केहि छिमेकी बाट । यो प्रक्रिया म ठुली हुँदै जाँदा पनि चलिरहयो, मलाई सम्झना भएसम्म गाउँघरमा हुने प्राय सवै कार्यक्रममा म बुवासँग पुग्थेँ । बुवासंगै हुन्थेँ । हुन त मैले अझैसम्म पनि बुवाले कुनै पार्टीको झण्डा बोकेर हिँडेको देखेकी छैन, तर प्राय कार्यक्रममा जाँदा मलाई पनि बुवाले आफूसँगै लैजानुहुन्थ्यो र यस्तो उस्तो कार्यक्रम हो भनेर जानकारी गराउनुहुन्थ्यो ।

प्रहरीको तल्लो दर्जामा कर्मचारीलाई अन्य क्षेत्रमा कर्मचारीले खासै वास्ता गर्दैनन् । उनीहरुलाई अफिसर बाहेक अरु प्रहरी हुन जस्तो पनि लाग्दैन । तर, मलाई त प्रहरीको जवानहरु सबैभन्दा महान लाग्छ्न्, किनकि सबैभन्दा धेरै कार्यक्षेत्रमा हाकिमको आदेश पालना गर्दै देश र जनाको निम्ति खटीने उनिहरु नै हुन् । यसर्थमा जवान प्रहरीहरु मात्र काम गर्छन भन्न खोजेकी होईन, जवान देखि लिएर अन्य कर्मचारीको पनि आ-आफ्नो काम, कर्तव्य र अधिकारहरु छन् संङगठन भित्र । रातदिन नभनी देश र जनताको काममा खटिने प्रहरीलाई १० बाट ४ बजेसम्म कार्यालय गएर फर्किने अरु कर्मचारीसँग दाज्न मनै लाग्दैन मलाई त, यसको मतलब मैले अरु कर्मचारीलाई नराम्रो भन्न खोजेकी चाहिँ होईन र सबैको आ-आफ्नो ठाउँमा आ-आफ्नो महत्त्व उतिकै छ । तर भोक, प्यास, घरपरिवार सुख, दुख नभनी देश र जनताका लागि मात्र खटिईरहने प्रहरी जस्तो महान अरु कहिल्यै लागेनन् र लाग्ने पनि छैनन । प्रहरी हाम्रो गौरव हो, सान हो अनि सम्पत्ति हो । यस्तै यस्तै लाग्छ ।

मेरो दिमागले भ्यायसम्म बुझ्थेँ, कार्यक्रममा जाँदा हतियार बोेकेर एकनाशका कपडा लगाई उभिएका मान्छे देख्दा कम्ता डराउँथेन म । कहिलेकाहीँ बुवालाई सताउँदा प्रहरी अंकललाई बोलाउँछु भन्दा त झनै सातोपुत्लो नै उड्थ्यो मेरो । सानोमा म एक दिन खान नपाएर त्यति रुन्थेन होला जति म कसैले पुलिस आए भनेको सुन्दा रुन्थेँ । तर समय संधै एकनाशको हुँदैन भन्ने पनि सानैमा सुनेकी थिएँ, साँच्चिकै हो रहेछ । विस्तारै म ठुली हुँदै जाँदा, बुझ्ने भएदेखि प्रहरी भन्दा प्रिय मलाई अरु कोहि लाग्दैन । र लाग्ने वाला पनि छैनन् । जुनसुकै कार्यक्रम होस् प्रहरीले सुरक्षा दिईरहेको देख्छु । देशका सबैभन्दा उच्च पदस्थ व्यक्तिहरु प्रधानमन्त्री, राष्ट्रपति सबै प्रहरीकै आडमा उनीहरुकै सुरक्षामा देशसँगै विदेश पुग्छन् । सायद प्रहरी बिना उनीहरुको यात्रा सम्भव नै छैन । देशका उच्चपदस्थ व्यक्तिहरुको सुरक्षा दिईरहेका प्रहरी देख्दा लाग्छ इमान्दारीता, अनुशासन भनेको उनीहरुसँग मात्र छ । अनि कोहि कसैले कुनै पनि कार्यक्रम गर्न सक्दैनन् प्रहरी बिना ।

कुनै घटना भयो प्रहरी गुहार्छौँ हामी, कुनै दुर्घटना भयो, बाढी पहिरो आयो प्रहरीलाई नै भन्छौँ, उनीहरुकै गुहार माग्छौँ । कुनै ठाउँ एक्लै हुँदा असुरक्षित महसुस हुन्छ नि अनि सम्झन्छौँ प्रहरीलाई नै, तर तिनै प्रहरीलाई गाली गर्दै हिँड्ने हाम्रो चलन छ । प्रहरीबाट सुरक्षा लिईरहेकाहरु नै धेरै जस्तो भन्छौँ प्रहरी राम्रो हुँदैनन् । प्रहरीको जागीर नि के खानु, तर सबैभन्दा उत्कृष्ट जागीर र सेवा मलाई त प्रहरीको नै लाग्छ । कुनै विरोधात्मक कार्यक्रम हुन्छन् त्यहाँ पनि प्रहरीलाई दोष दिएर प्रहरीसँग झगडा गर्न जानेहरु पनि छन, तर प्रहरी कसैसँग पनि लड्न खटिएका हुँदैनन् । उनीहरु त केवल अप्रिय घटना नहोस भनेर तैनाथ भएका हुन्छ्न् । कुनै पनि व्यक्ति र ठाउँमा कुनैले दमन गर्यो भने त्यहाँ नराम्रो घटना नहोस्, क्षती नहोस् भनेर प्रहरी सम्झाउँछ, बुझाउँछ तर हामी प्रहरी माथि नै आक्रमण गर्छौँ । आक्रमणको प्रतिकार प्रहरीले पनि गर्ने नै भयो । चोट प्रहरीलाई पनि लाग्छ, पीडा प्रहरीलाई पनि त हुन्छ होइन र?

केहि प्रहरीबाट पक्कै पनि गल्तीहरु भने भएकै छन् । तर केहिले गल्ती गरे भन्दैमा पुरै संगठनको बारेमा गलत सोच्नु, भन्नु र बुझ्नु पक्कै पनि ठिक होईन । प्रहरी भगवान पनि होइनन्, तर उनीहरुसँग सिङ्गो यो देश परिवर्तन गर्न सक्ने सामर्थ छ, अनि बैरीहरुलाई ठेगान लगाउन सक्ने ताकत पनि प्रहरीसँगै छ ।

हाम्रा बिर अनि अमर पू्र्खाहरुले आर्जित गरेको यो देशको सुरक्षा गर्ने जिम्मेवारी पनि यीनै प्रहरीको काँधमा छ । मलाई विश्वास छ, गर्व छ अनि भरोसा पनि प्रहरीकै छ, मौसम र राजनीति जस्तै मेरो प्रहरी बदलिने छैन, सत्य सेवा सुरक्षणम् को मन्त्र जपेर संधै देश र जनताको साथ र सुरक्षामा हुनेछ, मेरो प्रहरी। साँच्चिकै कहिल्यै डगमगाउने छैन, कहिल्यै झुक्ने छैन, मेरो प्रहरी सदैव लम्कीरहनेछ यहि भरोसा छ यहि आशा छ । हुनत व्यक्तिगत रुपमा सामान्य चिनजान र केहि आफन्त, नाता लाग्ने बाहेक मेरो परिवारमा आजसम्म प्रहरी पेशामा आवद्ध कोही पनि छैनन् । तर पनि सबैभन्दा प्रिय प्रहरी मात्र लाग्छन् । कृपया बिन्ती छ सबैको प्रिय हुने काम मात्र गर्दिनु, प्रिय प्रहरीहरु..जय नेपाल ।