पोजेटिभ रिपोर्ट आएपछि बेहोस, ३ घन्टाभित्र मृ’त्यु

पाँच दिनअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धको मृ’त्यु भयो। सरकारी रेकर्डमा कोरोना संक्रमणकै कारण मृ’त्यु भएको उल्लेख भए पनि उनको वास्तविकता फरक छ।

कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि अत्यधिक त्रासका कारण ‘स्ट्रोक’ भएर मृ’त्यु भएको परिवारजनले आशंका गरेका छन्।

पूरा विवरण बुहारी निशाकै शब्दमा:

परिवारमा हामी ६ जना छौं। २० दिनजति अगाडि मेरा श्रीमानलाई लगातार ज्वरो आएको थियो। कोरोनाको आशंकामा उहाँले पीसीआर परीक्षण गराउनुभयो। रिपोर्ट नेगेटिभ आयो। त्यसपछि थप परीक्षण गराउँदा सुगर बढेको र पिसाबमा इन्फेक्सन देखियो। औषधि खाएपछि करिब १० दिनमा उहाँ ठीक हुनुभयो।

यहीबीचमा म र मेरो डेढ वर्षको छोरालाई पनि ज्वरो आयो। तर, दुई–तीन दिनमा आफैं ठीक भयौं। हामीले पीसीआर परीक्षण गराएनौं।

बुवामा चाहिँ अघिल्लो बिहीबारबाट लक्षण देखिएको हो। सुरुमा रुघा लाग्यो। त्यसपछि ज्वरो आयो । खाना रुच्न छाड्यो। कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि आइतबार सिनामंगलको काठमाडौं मेडिकल कलेजमा लगेर उहाँको पीसीआर परीक्षण गरायौं।

भोलिपल्ट सोमबार पीसीआर रिपोर्ट लिन म आफैं गएँ। मैले रिपोर्ट लिएर घर आइपुग्दा बिहानको साढे १० जति बजेको थियो। कोरोनाको लक्षण देखिएपछि बुवा माथिल्लो तल्लाको एउटा कोठामा आइसोलेट भएर बस्नुभएको थियो। हामी तल्लो तलामा बसेका थियौं।

त्यस दिन बिहान बुवा राम्रैसँग भात खानुभएको थियो। अघिल्लो दिनभन्दा राम्रो भएको र भोलिबाट ठीक हुन्छु भन्दै हुनुहुन्थ्यो। स्वाब दिएर आएपछि रिपोर्ट के आउँछ भन्ने बुवालाई निकै कौतुहल थियो।

घर गएर मैले आमालाई पोजिटिभ रिपोर्ट आएको सुनाएँ। बुवालाई भनेका थिएनौं। डराउनुहुन्छ कि भन्ने लागेर अलि मिलाएर भन्ने विचार थियो। तर, आमाले फोनमा कुरा गर्ने क्रममा बोलेको सुनेर बुवाले आफैं थाहा पाउनुभएछ।

एकछिनमा आमाले तातोपानी लिएर बुवाको कोठामा जानुभयो। त्यसबेला बुवा आत्तिएको जस्तो अवस्थामा हुनुहुन्थ्यो रे। ‘पोजिटिभ आयो होइन?’ भनेर सोध्नुभएछ। आमाले ‘पोजिटिभ आउँदैमा के भयो त, ठीक भइहाल्छ नि’ भनेर सम्झाउनुभएछ। तर, आमाका अनुसार बुवा निकै हड्बडाउनुभएको थियो। उहाँले पानीको गिलास पनि राम्ररी समात्न सक्नुभएन छ। आमालाई पनि कोरोना सर्छ भनेर नजिक आउन दिनुभएनछ।

त्यसपछि आमा आत्तिँदै तल आएर बुवा धेरै डराउनुभएको हामीलाई सुनाउनुभयो। त्यसपछि हामी माथि उक्लियौं। हामी माथि जाँदा बुबा कक्रक्क पर्नुभएको थियो। हामीले उहाँको अक्सिजन लेभल नाप्यौं। ३५ मा झरिसकेको रहेछ।

ऐया–आत्था गर्नुभएको थिएन। तर, एकोहोरो स्याँ स्याँ गर्न थाल्नुभएको थियो। हामी सबै आत्तियौं। अस्पतालहरुमा फोन गर्न थाल्यौं। कतै पनि बेड खाली छैन। बल्लतल्ल कुपण्डोलको सर्वाङ्ग हस्पिटलमा आइसोलेसन कक्ष पाइयो। त्यहाँसम्म लैजान एम्बुलेन्स खोज्यौं। तर, नपाइएपछि छिमेकीको कार मगायौं।

माथिबाट हामी सबैले जसोतसो बुवालाई तल ल्यायौं। गाडीमा चढाउँदा पनि एकोहोरो स्याँ स्याँ गरिरहनुभएको थियो। बोल्न सक्नुभएको थिएन। करिब साढे ११ बजे हामी घरबाट हिँड्यौं। बाटोमा अलिअलि जाम थियो।

अस्पताल पुग्दा करिब १२ बजेको थियो। त्यहाँ पुर्‍याउनासाथ डाक्टरहरुले उहाँको अवस्था चिन्ताजनक रहेको बताए। भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्छ भन्दै भर्ना लिन मानेनन्। बरु पाटन अस्पताल लैजान सुझाव दिए। हामी तुरुन्तै हिँड्यौं।

पाटन अस्पताल पुर्‍याउँदा बुवा पूर्णरुपमा अचेत भइसक्नुभएको थियो। इमर्जेन्सीमा छिरायौं। डाक्टरहरुले अक्सिजन दिने प्रयास गर्नुभयो। सुरुमा एकैछिन ‘पल्स’ देखायो। त्यसपछि बुवाको शरीरले कुनै प्रतिक्रिया दिएन।

करिब साढे १ बजेतिर डाक्टरले बुवालाई मृत घोषित गर्नुभयो। हामीलाई शव दिइएन। आर्यघाटमा टाढाबाट हामीले उहाँको दाहसंस्कार हेर्‍यौं र रुँदै फर्कियौं।

कोरोना संक्रमण भए पनि बुवाको अवस्था गम्भीर थिएन। रिपोर्ट पोजिटिभ आएपछि आत्तिएर ‘ब्रेन ह्यामरेज’ भएको हाम्रो अनुमान छ। डाक्टरहरुले चाहिँ हामीलाई यसबारे केही पनि बताउनुभएन। कोरोनाको कारण मृत्यु भएको पनि भन्नुभएन, अरु कारण पनि खुलाउनुभएन। कोरोना संक्रमित भनेपछि अरु कारणको खोजी हुँदैन रहेछ।

बुवा आफ्नो स्वास्थ्यलाई लिएर सधैं सचेत हुनुहुन्थ्यो। उमेरले धेरै वृद्ध पनि होइन। अहिलेसम्म उहाँले बिरामी भएर औषधि खानुपरेको थिएन। कोरोनाले होइन, कोरोनाका कारण उत्पन्न त्रासले नै उहाँलाई हामीबाट चुँड्यो।

त्यसैले कोरोनाका बारेमा जनमानसमा उत्पन्न भएको त्रासलाई कसरी कम गर्ने भनेर सबैले सोच्नुपर्ने बेला भएको छ। बिरामीको आत्मविश्वास कमजोर भयो भने जे पनि हुन सक्दोरहेछ। हाम्रो परिवारलाई परेकोजस्तो अरुलाई नपरोस्।