निजी ल्याबमा पहिलो पटक पिसिआर परीक्षण, ३ घण्टाभित्र रिपोर्ट आउने

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्रयोगशालामा आफूखुसी स्वाब परीक्षण गराउन चाहनेले शुल्क तिरेर परीक्षण गराउन पाउँछन्।

दुईसाता अघि प्रयोगशालामा दैनिक ४ सय जनासम्म स्वाब दिन जानेको भीड थियो, कारण नेपाल प्रहरीमा खुलेको जागिर, विभिन्न जिल्लाबाट आएका कामदार र पोखराबाट अन्यत्र जान चाहनेको भीड। उनीहरूले दिनभर घाममा लाइन लागेर स्वाब दिएका थिए। रिपोर्ट मुश्किलले ३ दिनपछि पाएका थिए।
नेपाल प्रहरीमा भर्ना हुन होस्, या कुनै पनि निर्माण सेवा वा कम्पनीमा काम गर्न अहिले पिसिआर रिपोर्ट अत्यावश्यक गरेको छ। कात्तिक १ गतेदेखि स्याङ्जा प्रशासनले जिल्ला भित्रन चाहनेका लागि पिसिआर रिपोर्ट अनिवार्य भनेको छ भने पर्वतले पनि जिल्ला भित्रनेलाई १४ दिन क्वारेन्टिन बस्नुपर्ने बताएको छ।

चाडपर्वमा घर फर्कन चाहनेहरूको भीड र त्यसका लागि चाहिने पिसिआर रिपोर्टका लागि गण्डकीमा प्रयोगशालाको कमी छ।
गण्डकी प्रदेशमा कोरोना भाइरसको परीक्षण गर्ने दुइटा मात्र सरकारी ल्याब छ , दुबै पोखरामा छन्। यी दुइटा ल्याबमा अहिले नै स्वाबको चाप बढेकाले परीक्षण गर्न र रिपोर्ट दिन ढिलाइ गरेको प्रयोगशाला विज्ञहरूले बताएका छन्। सरकारले निजी स्वास्थ्य संस्थालाई कोरोना भाइरस परीक्षण गर्न अनुमति दिए पनि यसअघि गण्डकी प्रदेशका कुनै पनि निजी स्वास्थ्य संस्थाले हालसम्म अनुमति लिएका थिएनन्। पोखराको न्युरोडस्थित लाइफकेयर डायग्नोस्टिक एण्ड रिसर्च सेण्टरले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना परीक्षणको अनुमति पाएको छ।

गण्डकीमा भएका दुइटा प्रयोगशालामध्ये पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा आफूखुसी परीक्षण गराउनेको भीड छ भने क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा कन्ट्याक्ट ट्रेसिङका क्रममा संकलन गरिएका स्वाबको चाङ लागेको छ। यी दुईबाहेक अब निजी क्षेत्रबाट गण्डकीमा अर्को प्रयोगशाला स्थापना भएको छ। यसले सरकारी प्रयोगशालाको चाङ घटाउने प्रयोगशालाका संचालक डा. अमर नागिला बताउँछन्।

लाइफकेयर डायग्नोस्टिक एण्ड रिसर्च सेण्टरले विगत ६ वर्षदेखि प्रयोगशाला स्थापना गरेर झण्डै १ सय ५० थरी रोग परीक्षण गर्दै आएको छ। कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि आरटी–पिसिआर मेसिनसहित सामग्री खरिद गरेर प्रयोगशाला स्थापना गरेको ल्याब विज्ञ समेत रहेका डा. नागिलाले बताए। ‘स्वाब दिनकै लागि दिनभर लाइन बस्नुपर्ने अवस्था देखेपछि अब परीक्षणमै जोड दिनुपर्छ भन्ने ठान्यौं’, उनले भने, ‘अब निजी क्षेत्रले पनि परीक्षण गर्नुपर्छ भनेर कोरोना जाँच्न छुट्टै प्रयोगशाला स्थापना गरेका हौं।’

उनले अत्यावश्यक र संवेदनशील अवस्थाका व्यक्तिलाई ३ घण्टाभित्रै कोरोना परीक्षण गरेर रिपोर्ट दिने गरी व्यवस्था मिलाएको बताए। लाइफकेयरमा बनेको कोरोना प्रयोगशाला अन्य रोग परीक्षण गर्ने प्रयोगशालाभन्दा भिन्दै बनाएको छ। कोरोना परीक्षण गर्न स्वाब दिन आउने, जाने, स्वाब लगेर राख्ने ठाउँदेखि सबै छुट्टै बनाएको डा. नागिलाले बताए।

अन्य प्रयोगशालासँग सम्पर्क हुन नदिन कोरोना जाँच्ने प्रयोगशालालाई छुट्टै बनाएको र सुरक्षा मापदण्ड पूरा गरेको उनले बताए। कोरोना भाइरसको परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न १ करोड रुपैयाँ खर्च लागेको लाइफकेयर डायग्नोस्टिक एण्ड रिसर्च सेण्टरले जनाएको छ। लाइफकेयरले तत्काल २ हजार जनाको स्वाब परीक्षण गर्न सकिने गरी भिटिएम लगायत सामग्रीको व्यवस्था गरेको छ।

लाइफकेयर डायग्नोस्टिक एण्ड रिसर्च सेण्टरले पोखरामा कोरोना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग अनुमति मागेको थियो। प्रयोगशालाले खटाएको टोलीले स्थलगत निरीक्षण गरेर निजी प्रयोगशालालाई कोभिड–१९ को परीक्षण गर्न अनुमति दिनेसम्बन्धी निर्देशिका–२०७७ अनुसार मापदण्ड पूरा गरेको प्रतिवेदन दिएको थियो। सोही प्रतिवेदनका आधारमा लाइफकेयर डायग्नोस्टिक एण्ड रिसर्च सेण्टरलाई पिसिआर परीक्षण गर्न अनुमति दिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. मुकुन्दा शर्माले जनाएका छन्।

लाइफकेयर डायग्नोस्टिक एण्ड रिसर्च सेण्टरले शुक्रबार आफ्नो प्रयोगशालाको परीक्षण गरेको छ। लाइफकेयरमा काम गर्ने १० जना स्टाफको पिसिआर परीक्षण गरेर त्यसको रिपोर्टसहित स्वाब सरकारी प्रयोगशालामा पठाएको डा. नागिलाले बताए। ‘लाइफकेयरको रिपोर्ट र सरकारी प्रयोगशालाको रिपोर्ट मिल्न गएपछि मात्र हामी सर्वसाधारणको स्वाब परीक्षण थाल्छौं’, उनले भने। सरकारी प्रयोगशालाले लाइफकेयरको प्रयोगशालाले दिएकै रिपोर्ट दिएमा शनिबार वा आइतबारदेखि सर्वसाधारणको स्वाब परीक्षण गर्न थाल्ने जनाएको छ।

लाइफकेयरको आरटी पिसिआर मेसिनले एक पटकमा ९६ वटा स्वाब परीक्षण गर्न सक्छ। सरकारसँग मिलेर काम गर्ने भन्दै डा. नागिलाले भने, ‘पोखरामा रहेका निजी अस्पतालहरूसँग पनि सहकार्य गर्छौं।’ कोरोना परीक्षण गर्ने ल्याबका लागि १५ जनाको ल्याब विज्ञ सहितको टोली बनाएको र उनीहरूलाई काठमाडौंमा लगेर तालिम दिएको उनले बताए। कोरोना भाइरसको संक्रमण नजिकिँदै गरेको चाडपर्वपछि संक्रमणको वेभ आउने उनले बताए।

कम्तिमा १ वर्ष भ्याक्सिन आउने सम्भावना नरहेको भन्दै उनले विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउनुको विकल्प नभएको बताए। ‘भाइरस आफैं सर्दै हिँड्ने त होइन नि’, उनले भने, ‘मापदण्ड राम्रोसँग पालना गर्नुपर्‍यो, रोगसँग डराएर छुनै नहुने, बोल्नै नहुने प्रवेश निषेध जस्ता गतिविधि गर्नुभएन।’
सरकारले विज्ञहरूको सुझाव नमानेकै कारण नेपालमा कोरोना भाइरस नियन्त्रण गर्नै बाहिर जान थालेको उनको भनाइ छ।