देशभरका धेरै सडकमा खाल्डाखुल्डी

देशभरका राष्ट्रिय राजमार्गसहित शहरी सडक र ग्रामीण सडकमा मर्मतको अभावमा अवस्था झन खराब भइरहँदा सडक मर्मतका लागि छुट्टाइएको बजेट भने खर्च हुन सकेको छैन ।

सडक बोर्ड नेपालले गत आर्थिक वर्षमा छुट्टाएको बजेटमध्ये ६४ दशमलव ७२ प्रतिशत मात्रै खर्च भएको पाइएको छ । रणनीतिक सडक मर्मतको काम सडक विभागले गर्दै आएको छ । गत आवमा विभागको आर्थिक प्रगति ७१ दशमलव ५२ प्रतिशत छ भने नगरपलिकाको २४ दशमलव ४३ प्रतिशत छ । त्यस्तै, बोर्डले मर्मतका लागि छुट्ट्याइएको बजेटमध्ये १२ दशमलव ३२ प्रतिशत र स्थानीय पूर्वाधार विभागको १४ दशमलव ६३ प्रतिशत मात्र खर्च भएका छन् ।

सरकारले विगतमा चार ठाउँमा दस्तुर उठाउँदै आएकामा अरु थप सडकमा समेत विस्तारको लक्ष्य लिएको थियो । तर कोभिड–१९ का कारण सडकमा सवारीसाधन ह्वात्तै घटेकाले उठाइरहेको स्थानमा समेत रोकिएको छ । बोर्डले ‘हाम्रो सडक’ एप्समार्फत आएका गुनासोका आधारमा समेत मर्मत गराउँदै आएको छ ।

चालू आवमा सरकारले सडकको आवधिक मर्मत र पुनःस्थापनाको लागि सडक बोर्डमार्फ खर्च गर्ने गरी रु आठ अर्ब विनियोजन गरेको थियो । सरकारले सडक मर्मतका लागि बजेट अभाव हुन नदिन पेट्रोल र डिजेलमा थप रु एक लिने समेत निर्णय गरेको थियो । राजमार्ग तथा ठूला सडकको मर्मत सम्भारका लागि दीगो स्रोत सुनिश्चित गर्न सडक प्रयोगकर्ताबाट शुल्क लिने नीति अवलम्बन गर्ने बजेट बक्तव्यमा उल्लेख छ ।

सडक विभागलगायत अरु निकायले पनि निर्माणलाई ध्यान दिए पनि मर्मतलाई कम ध्यान दिएकोको बोर्डका प्राविधिक निर्देशक सागर ज्ञवलीले बताए । उनका अनुसार सडक विभागले अझै पनि विकास पुगेन भन्दै नयाँ निर्माणलाई बढी केन्द्रीत हुँदा मर्मतले कम प्राथमिकता पाएको छ । उनले भने, “सडक मर्मत लक्ष्यानुसार नहुनुमा बजेटभन्दा प्राथमिकतामा कमी हो ।”