दक्षिण कोरिया गएका कामदारहरुको अलपत्र; पाएनन् तलब

नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ।

यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कूल तलब रकम ७ दशमलव १७ ट्रिलियन वोन पुगेको छ।

सन् २०१६ मा मात्र तीन लाख २५ हजार ४३० जनाले नपाएको ज्याला १ दशमलव ४३ ट्रिलियन पुगेको थियो भने सन् २०१९ मा तीन लाख ४४ हजार ९७७ जनाले पाउनुपर्ने १ दशमलव ७२ ट्रिलियन वोन पुगेको छ। त्यसैगरी सन् २०२० को आठ महिनामा कामदारलाई नदिएको ज्याला ८९० बिलियन वोन छ।

यहाँको रिपब्लिक जनशक्ति पार्टीका नेता किम सुङ–वानले कामदारको ज्याला समयमा भुक्तानी नगर्ने रोजगारदातालाई जरिवानासमेत तिराउनुपर्ने सुझाव दिएका छन्।

यो तथ्याङ्क बाहिरए पनि झण्डै ५० हजार बढी नेपालीले रोजगारी गरिरहेको देश दक्षिण कोरियामा नेपालीहरू हालसम्म बेतलबी बस्नुपरेको त्यस्तो उल्लेख्य घटना देखिएको छैन। तथापि यसको प्रभाव पर्ने हो कि भन्ने चिन्ता यहाँ काम गरिरहेका नेपालीलाई छ।