नेपाल प्रहरीका जवान जसले गिनिज बुकमा नाम लेखाए, नेपालमा भन्दा भारतमा बढी चर्चा

साउन ०६, काठमाडौं। सशस्त्र प्रहरीका जवान दिनेश सुनार गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुईपटक नाम लेखाएका कारण नेपालमा भन्दा भारतमा प्रसिद्ध भएका छन्।

दिनेश नेपालमा भन्दा पनि भारतीय मिडियामा छाउनुको कारण उनले गिनिज बुकमा लेखाएको शीर्षकका कारण हो । ‘मस्ट ट्विस्टिङ ब्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्ड दर्ता गराएका थिए । यो विषयमा अहिलेसम्म गिनिज बुकमा कसैले पनि नाम दर्ता गराएका छैनन् ।

न्यूनतम १५ पटकसम्म गर्नुपर्ने गिनिज बुकमा उल्लेख रहेको रेकर्ड तोड्दै उनले भने, ‘मैले १८ पटकसम्म गरेर देखाएँ, यति गरेर मैले देशको नाम विश्वमा चिनाउन सकेँ ।’ उनले द मस्ट ब्याकवार्ड समरसाउट वाल इन ३० सेकेन्डमा रेकर्ड कायम गरेका छन् । ३० सेकेन्डमा १६ पटकको रेकर्ड तोडिदिए । उनले सोही समयमा १५ पटक गरेर देखाए ।

एकपटक गिनिज बुकमा नाम लेखाएपछि दिनेश सुनारलाई त्यसको भोक मेटिएन । अमेरिका पुगे, तालिम पनि गरे तर फेरि नेपाल फर्किएर अर्को रेकर्ड तोडेर देखाए । अब, तेस्रोपटक गिनिजमा नाम लेखाउने तयारीमा जुटेका छन् उनी ।

उनी पहिलोपटक गिनिज बुकमा नाम लेखाउनासाथ भारतीय मिडियामा भाइरल भएका थिए । ‘पहिलोपटक यो शीर्षकमा नाम दर्ता गराउन सफल भएका कारणले नै मेरो भारतीय मिडियामा व्यापक चर्चा भयो । नेपालमा यसको महŒव कम बुझेजस्तो लागेको छ,’ उनले भने, ‘तर यही नामले म नेपाल चिनाउनेछु ।’

सशस्त्र प्रहरीका तत्कालीन प्रमुख सनतकुमार बस्नेतले उनको जिम्न्यास्टिक देखेर खोटाङबाट टपक्क टिपेर ल्याएका थिए । त्यसपछि दिनेश सशस्त्रमा जागिरे भए । तर, महानिरीक्षक बस्नेत उनमा रहेको प्रतिभाले ठाउँ पाउला कि नपाउला भन्ने चिन्तामा थिए ।

सशस्त्र प्रहरी संगठनभित्र उनलाई एउटा अब्बल ‘पार्कर’ भनेर चिनिन्छ । पार्कर जिम्न्यास्टिकको परिष्कृत नाम हो । दिनेश यति तीक्ष्ण छन् कि उनको तुलना सम्भवतः दक्षिण एसियामै कसैसँग हुँदैन । रबर जस्तो छ, उनको ज्यान । जता खुम्च्याए पनि खुम्चिने प्रकारको ।

उनले पार्कर थालेको १० वर्ष पुग्यो, सशस्त्रमा काम थालेको सात वर्ष । उनी जागिरे हुनुपूर्व नै हलचोकमा ल्याइएका थिए ।

वल्र्ड फ्री रनिङ पार्कर फेडेरसनको निम्तोमा उनी वल्र्ड च्याम्पियनसिपमा सहभागिताको तयारीका लागि अमेरिकाको फ्लोरिडा पुगेका थिए । विश्वका विभिन्न मुलुकका अब्बल खेलाडीसामु उनले सुखद प्रदर्शन गरे । ८० जनामा उत्कृष्ट ८ मा परे उनी । राजधानी दैनिक