मेरो परिवारले गरेको संघर्ष नदेख्ने, पद पाएको मात्र देख्ने?: प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कम्युनिष्ट पार्टी र आन्दाेलनकाे हितका लागि पटकपटक पद त्याग गरेकाे व्यक्ति भएकाे बताउनुभएकाे छ।

आइतबार जनता टेलिभिजनसँगको कुराकानीमा नेकपा अध्यक्ष प्रचण्डले सुरुवातमा ओली र आफूबीच सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी बनेको भएपनि पछि आफूले नै त्यसो गर्दा सरकार अस्थिर भएको विश्लेषण हुने भएकाले ओलीले नै ५ वर्ष नेतृत्व गर्ने गरी सहमति गरिएको बताउनुभयो।

करिब साढे एक वर्षपछि जनता टेलिभिजनसँगको संवादमा अध्यक्ष प्रचण्डले आफू पार्टी एकताका लागि जस्ताेसुकै त्याग गर्दै आएको बताउनुभएको छ। पार्टीमा पछिल्लो समय उत्पन्न विवाद समाधानमा आफ्नो महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुहुँदै प्रचण्डले अन्तर् वार्तामा भन्नुभएको छ, ‘फुटको संघारमा पुगेको पार्टीलाई जोगाएर फेरि विधिमा प्रवेश गराउन अध्यक्ष ओली, वरिष्ठ नेताहरु र सचिवालयका सबै नेताहरुको उल्लेखनीय भूमिका छ।’

जनताको अपार समर्थन पाएको नेकपाले सत्ताको नेतृत्वमा आएपछि नेकपाका नेताहरु पद, प्रतिष्ठा, परिवार र विभिन्न खाले विचौलियाहरुसँग जोडिन पुगेको भनिन्छ नि? भन्ने प्रश्नको जवाफ दिनुहुँदै प्रचण्डले भन्नुभयो, ‘यो निकै महत्वपूर्ण प्रश्न हो, पार्टीमा यस्ता खाले केही समस्या देखिएका छन् तर मलाई भने मेरो परिवारको संघर्षका बेलाको त्याग र समर्पण र त्यही कारण परिवारका सदस्यहरु गुमाएकोमा कसैले सद्भाव नराखेपनि परिवारवादको आरोप लगाउँदा मन दुख्ने गरेको छ।’

यु-द्धकालमा छोरा प्रकाश दाहालले रुकुम रोल्पालगायतका ल-डाइँमा बन्दु-क भिरेर हिंडेको र छोरी रेणु दाहालले भारतका विभिन्न ठाउँमा महिला संगठन विस्तार गरेको उहाँको भनाइ छ। जनयु-द्धकै असरका कारण एक छोरी गुमाउनु परेको, छोराको मृ-त्यु भएको र परिवारमा अहिले पनि तनाव जारी रहेको भन्दै प्रचण्डले यस्ता आरोपले आफूलाई अचम्मित बनाउने गरेकाे बताउनुभयो।

पछिल्लो समय किसानलाई रासायनिक मलको अभाव भएको सन्दर्भमा आफ्ना घरभेटीसँग जोडेर विरोध भइरहेको बारे अध्यक्ष प्रचण्डले आफू जहाँ बसेपनि यसरी विरोध हुने गरेको र अहिले बसेको घर पनि छोड्न लागेको बताउनुभयो। पुराना – पुराना ठेक्कासँग जोडेर आफ्नो नाम अनावश्यक मुछ्ने गरिएको उहाँको भनाइ छ।