प्रहरीले थाल्यो ‘बला’त्कारी संगठन’ ग्रुपमाथि अनुसन्धान

बला’त्कारका घटना दिनदिनै सार्वजनिक भइरहेका बेला केही दिनयता सामाजिक सञ्जालमा ‘बला’त्कारी संगठन’ नामक ग्रुप चर्चामा छ। सामाजिक सञ्जाल फेसबुकमा खोलिएको विवादित नामसहितको यो ग्रुपको गतिविधिलाई लिएर आलोचना भइरहेका बेला प्रहरीले अनुसन्धान थालेको छ।

नेपाल प्रहरीले यो ग्रुपबारे अनुसन्धान अघि बढाएको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले यो ग्रुप किन खोलियो र यसको प्रयोजन के भन्ने बुझ्न यसमा संलग्नको खोजी तीव्र पारिएको जानकारी दिए।

‘हामीले हिजोदेखि नै यो ग्रुपमा संलग्न व्यक्तिबारे व्यापक खोजी गरिरहेका छौं’, उनले भने, त्यसका लागि अपराध महाशाखा र साइबर ब्युरो परिचालित भइसकेका छन।’

यौ’नजन्य हिंसालाई बढावा दिने गरी सामाजिक सञ्जालमा खोलिएको यो ग्रुपका गतिविधि रोक्न अनुसन्धान आवश्यक रहेको उनले बताए। ‘हामीले यो फेसबुक ग्रुपबारेमा सुक्ष्म र गम्भीर रुपमा अध्ययन गरिरहेका छौं’, उनले भने।

यो ग्रुपका सञ्चालकहरु पक्राउ पर्ने उनले विश्‍वास दिलाए। ‘यो ग्रुपका सञ्चालकहरु पक्राउ परेपछि आवश्यक कारवाही अघि बढाउँछौँ’, कडायतले भने, ‘अहिले नै सबै कुरा भन्न सकिँदैन।’