तिहारसम्म लकडाउन नगर्ने मनस्थितिमा सरकार

कोरोना संक्रमितको संख्या निरन्तर बढेपनि सरकारले तिहारसम्म लकडाउन नगर्ने भएको छ। संक्रमितको संख्या दैनिक ५ हजार नाघेपछि विज्ञहरुले सरकारलाई लकडाउन गर्न सुझाव दिएका छन्।

काठमाडौंमा राम्रोसँग परीक्षण नभएको र व्यापक परीक्षण गर्ने हो संक्रमितको संख्या कयौँ गुणाले बढ्ने विज्ञहरुको अनुमान छ। काठमाडौंका अस्पतालमा बिरामीको चाप पनि थामिनसक्नु भएको छ। संक्रमितले बेड नै नपाउने अवस्था सिर्जना भइसकेको छ।

स्वास्थ्य मन्त्रालयका केही विज्ञ डाक्टरहरुले पनि कम्तीमा २ हप्ता लकडाउन गर्न आग्रह गरेका थिए। तर, सरकारले लकडाउन गर्ने विषयमा कुनै तयारी नभएको जनाएको छ। दसैँ, तिहारजस्ता ठूला चाडमा लकडाउन गर्दा झन् समस्या थपिने भन्दै सरकार हच्किएको हो।

‘स्वास्थ्य मन्त्रालयले देशमा संक्रमण तीव्र रुपमा फैलिसकेको र अस्पतालमा बेड पाउनै मुस्किल भएकोले कम्तीमा २ हप्ता देशव्यापी लकडाउन गर्न सुझाव दिएको थियो,’ मन्त्रालयका एक विज्ञ डाक्टरले भने, ‘तर, प्रधानमन्त्रीले तत्काल लकडाउन नगर्ने मनस्थिति बनाउनु भएको रहेछ।’

‘तत्काल लकडाउन होलाजस्तो देखिएको छैन। दैनिक पाँच हजारको संख्यामा संक्रमित थपिएपछि मानिसहरु डराएका छन्,’ ती विज्ञले भने, ‘तर, लकडाउन गर्ने निर्णय मन्त्रिपरिषदले नगरी हुँदैन, अहिलेसम्म त्यसको संकेत देखिँदैन।’

शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि यस विषयमा छलफल भएको थियो। सो छलफलमा पनि प्रधानमन्त्री ओलीले लकडाउन नगर्ने मनसाय व्यक्त गरेका थिए। ‘दसैँतिहारमा लकडाउन नगर्ने, यदि संक्रमितको संख्या नियन्त्रणमा नआए त्यसपछि लकडाउन गर्नुपर्ने प्रधानमन्त्रीको विचार छ। चाडबाड पनि भयो, फेरि लकडाउन गर्नेबित्तिकै मानिस भड्किए भने गाह्रो हुन्छ,’ ओलीनिकट एक नेताले भने।