मलेसियाले दियो चीनलाई चुनौती, दक्षिण चीन सागरमा ६ जहाजसहित ६० चिनियाँ पक्राउ

मलेसियाले दक्षिण चीन सागरमा चीनलाई चुनौती दिएको छ । मलेसियाको मेरिटाइम इन्फोर्समेन्ट एजेन्सी (एमएमइए) ले चीनका ६ वटा माछा मार्ने जहाज जफत गरेको छ । यी जहाजहरु मलेसियाको समुद्री सीमास्थित जोहोरको खाडीमा गैरकानुनी तरिकाले प्रवेश गरेका थिए । यी जहाजमा रहेका ६० चिनियाँ नागरिकलाई पनि मलेसियाले हिरासतमा लिएको छ ।

एमएमइएको तानजुंग सिडिली क्षेत्रका निर्देशक क्याप्टेन मोहम्मद जुल्फादली नयनका अनुसार एजेन्सीले शुक्रबार आफ्नो क्षेत्रमा अपरेशन चलाइरहेको थियो । यस क्रममा दुई अलग अलग स्थानमा यी जहाजहरु देखिए । त्यसपछि कारवाही गरिएको हो ।

मलेसियाका अधिकारीले भने ‘जोहोर बन्दरगाह प्राधिकरणबाट हामीले केही जहाजहरु हाम्रो सीमामा प्रवेश गरेको जानकारी पाएका थियौं । हाम्रो पट्रोलिङ टिमले २–३ नटिकल माइलको दूरीमा यिनीहरुलाई देखे । यीमध्ये तीन जहाजहरु एक अर्काको नजिकै चक्कर लगाइरहेका थिए । यिनीहरुमा ६ क्याप्टेन र ५४ क्रु सदस्य थिए ।’

अधिकारीका अनुसार जहाजमा भएका सबै चीनका नागरिक हुन् । उनहिरुको उमेर ३१ वर्षदेखि ६० वर्षसम्म छ । उनीहरुमाथि मर्चेन्ट शिपिङ अर्डिनेन्स अनुसार मुद्दा दर्ता गरिएको छ ।

यस्तो केसमा सबै क्रु सदस्यमाथि जनही १ लाख मलेसियन रिंगेट जरिवाना र जेल सजाय समेत हुन सक्छ । उनीहरुमाथि अर्को एक कानुनअनुसार पनि कारवाही अगाडि बढाइएको छ । यो अभियोगमा अधिकतम ६० लाख मलेसियन रिंगेट जरिवाना र प्रत्येक सदस्यहरुमाथि ६ लाख मलेसियन रिंगेटसम्म जरिवाना हुन सक्छ ।