दुधे छोरा छोडेर कोभिडका बिरामीको सेवा

सिर्जना (नाम परिवर्तन) ले नर्स भएर बिरामीको सेवा गर्न थालेको १० वर्ष भयो । विभिन्न अस्पतालमा काम गरेको अनुभव उनीसँग छ। अहिले उनी भक्तपुरको एक अस्पतालमा काम गर्छिन्। नर्सिङ पेसामा आएको १० वर्ष भयो। लामो अनुभव भएपछि उनलाई अस्पतालले सर्जिकल वार्डको इनचार्जको जिम्मेवारी दिएको छ।

उनको विवाह भएको ५ वर्ष भयो। पहिलो सन्तान, छोरा भर्खरै २ वर्षका भए। परिवारले उनको पेसालाई सम्मान गरिरहेको थियो र छ। बुहारी भएर गएपछि पनि नर्सको बेतालिके जागिरसँग परिवारले गुनासो गरेन। उल्टो बिरामीको सेवा गर्ने बुहारीको पेसालाई सम्मान र हौसला दिइराखे। उनी पनि हौसिएर काम गर्दै थिइन् तर एक्कासी कोरोना आयो।

बिरामीको सेवा नै कर्म रहेको उनले स्विकार गरिसकेकी छन्। किनकी ‘लेडि विथ द ल्याम्प – फ्लोरेन्स नाइटिङ्गेल’ उनको प्रेरणाको स्रोत हुन्।

‘बाबु हुँदा चाहिँ छोडौँ कि बसौँ जस्तो हुन्छ,’ सिर्जना भन्छिन्, ‘अस्पतालबाट घर फर्किने बित्तिकै झ्याम्मिन आउँछ, तर हामीले छुन मिल्दैन।’ सिर्जना घर जान्छिन्, नुहाएर, सबै कपडा धोएर, हातमा स्यानिटाइजर लगाएर मात्रै बच्चा छुन जान्छिन्। एउटै कारण हो, ‘२ वर्षे छोरा।’

दुई वर्षको छोरा छुकछुके छ। आमासँग लाडिनु बच्चाको स्वाभाव नै हो। झन् ऊ निदाएको बेलामा आमा खुसुक्क अस्पताल जान्छिन्, कहिले १४ घण्टा त, कहिले ८ घण्टामा घर आउँछिन्। आउने बित्तिकै बाबु छातीमा टाँसिन पाउँदैन। अस्पतालमा कोरोनाको बिरामीको उपचार गर्न थालेपछि उनले छोरालाई राम्ररी सुम्सुम्याउन पनि पाएकी छैनन्। सिर्जना भन्छिन्, ‘मेरो कारणले छोरालाई कोरोना सर्ला कि भन्ने डर लाग्छ।’

समस्या त्यतिबेला भयो, जतिबेला उनलाई कोरोना संक्रमण भयो। ‘बाबु मलाई देख्न नपाएर रोयो,’ उनी भन्छिन्, ‘एक सातामा बल्ल छुन पाएँ, ऊ धेरै खुसी भयो।’ बच्चा रोएको देख्दा उनलाई एक मनले लाग्यो, ‘अब त जागिर छोडिदिउँ।’

उनी सम्झिन्छिन्, ‘सासुले भान्छाको सबै काम हेरेर, छोरालाई पूर्ण ख्याल गरेको र अस्पतालका काम गर्ने वातावरण मिलाइदिएको। श्रीमानले ढाडस दिएको अनि आफूले उपचार गरेर निको भएका बिरामीहरुको अनुहार।’ उनले सकारात्मक सोचले आफूलाई अगाडि बढाइरहेकी छन्।

‘समस्या त सबैको छ, तर हामीले सुल्झाउनै पर्छ,’ सिर्जना भन्छिन्, ‘कोभिडलाई अझै सामान्य रुपमा लिइरहेका छन्। आफैँलाई नपरी गम्भीर रुपमा लिइएको पाइँदैन।’

‘अरुले भनेर सावधान हुनुभन्दा आफैँ जान्नु पर्छ, यो रोग कसैको नियन्त्रणमा छैन, एकजनाको सानो गल्तीले अर्को मानिसलाई समस्या पर्न सक्छ।’

अन्त्यमा उनी भन्छिन्, ‘म त भन्छु तपाईँ कसैको ज्यान लिने कारक नबन्नुस्।’