करणी गरेंको हो भन्नेलाई न्यायाधीशले छाडे, गाउँ फर्केर पीडितमाथि कुटपिट

मोरङको रतुवामाई नगरपालिका-८ की २३ वर्षीया दलित महिलालाई बलात्कार गरेको अभियोगमा कुखुरेडाँडाका काजी भनिने काजिमान श्रेष्ठ पक्राऊ परे ।

श्रेष्ठले प्रहरीमा मात्रै होइन, मोरङ जिल्ला अदालतसमेत ती महिलालाई करणी गरेको स्वीकार गरे ।जिल्ला अदालत मोरङका न्यायाधीश राजकुमार कोइरालाले असोज १६ गते जारी गरेको तीनपन्ने आदेशमा यस्तो लेखिएको छ-

‘प्रतिवादीले अदालत तथा अधिकारप्राप्त अधिकारीसमक्ष वयान गर्दा जाहेरवालाले रु. १०००।- मागेकोमा दिन्न भन्दा करणी गर्न दिन्छु, भरे भोलि पैसा दिँदा हुन्छ भनेकीले करणी गरेको हो, भरे भोलि पैसा माग्न नआएकोमा जबरजस्ती करणीमा जाहेरी दिइन् भन्ने उल्लेख गरेका छन् ।’

तर न्यायाधीश कोइरालाले बलात्कारको मुद्दामा करणी गरेको सकारी वयान दिने काजीलाई असोज १६ गते एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका छन् ।

उधारोमा करणी गरेको अदालतसमक्ष वयान दिएका काजीले अदातलबाट फकुवा भएर गाउँ फर्केपछि पीडितको परिवारमाथि गाउँलेहरुले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

घाँस काट्न जाँदा बलात्कार !

पीडित महिलाका अनुसार २३ भदौमा खेतमा घाँस काट्न खेतमा गएका बेला आइपुगेका काजीमानले ‘ओइ कान्छी’ भन्दै बोलाएका थिए । तर आफूलाई हतार भएकाले घाँस काट्न लाग्दा काजीमानले पछाडिबाट काजीले समातेको र भुइँमा लडाएर मुख थुनेर घिसार्दै बाँसघारी छेउमा लगेर करणी गरेको उनले बताइन् । बला’त्कारपछि घटनाबारे भने मार्ने धम्की दिएको उनले बयान छ ।

‘साना छोराछोरी छन्, कसैलाई सुनाए मारिदिन्छु भनेपछि डर लाग्यो’ पीडितले भनिन्, ‘घरमा श्रीमानलाई सबै घटना सुनाएँ र गाउँका अगुवाको सहयोगमा प्रहरीसम्म पुगेँ ।’

प्रहरीको घटनास्थल मुचुल्कामा पनि जबरजस्ती करणी गरेको हो भनेर उल्लेख छ । आारोपित श्रेष्ठले प्रहरी र अदालतमा समेत जाहेरीवाला महिलासँग शारीरिक सम्बन्ध राखेको स्वीकार गरेका छन् । तर, एकहजार रुपैयाँ दिने सहमतिमा भएको काजीको दाबी छ ।

एक लाखमा मिल्न दबाव

पीडित महिलाले इलाका प्रहरी कार्यालय सिँजुवामा दिएको उजुरीका आधारमा काजीमान २४ गते पक्राउ परे । तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता भएका कारण पक्राउलगत्तै श्रेष्ठलाई छुटाउन स्थानीय नेताहरु र श्रेष्ठको परिवार लागेको महिला पक्षको गुनासो छ ।

पीडित महिला पनि आफूलाई पैसा लिएर मिल्न दबाब दिए पनि नमानेको बताउँछिन् । ‘पैसा लिएर मिल्नु भन्दै उसका (पीडकका) आफन्तहरु आए, अरुले पनि भने’ उनले भनिन् ‘मेरो इज्जतभन्दा पैसा ठूलो होइन भन्दै मिलिनँ ।’

आफ्नो श्रीमानलाई पनि प्रलोभनमा पार्न खोजेको तर पैसाका लागि श्रीमती बेच्दिनँ भनेर पठाएपछि गाउँलेले पनि धम्की दिएको उनले बताइन् ।

स्थानीय अगुवाले पनि प्रलोभनमा पार्ने प्रयास भएको बताए । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘महिलालाई एक लाख लिएर मिल्न दबाब दिए । उनले नमानेपछि मसँग पनि कुरा गर्न आएका थिए, मैले हुँदैन भनिदिएँ ।’