नेकपा नेता बरालमाथि हातपात

मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गुरु बरालमाथि हातपात भएको छ ।

उर्लाबारी नगरपालिका–३ मंगलबारेमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानका लेखा तथा प्रशासन प्रमुख मुक्तिनाथ दाहालको शव सोमबार झापाको दमकस्थित बहुप्राविधिक शिक्षालयमा झुन्डिएको अवस्थामा भेटिएको थियो । आफन्त र छिमेकीले भने मुक्तिनाथलाई आ’त्मह’त्या गर्न बाध्य बनाएको दाबी गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत विनोद अर्यालले खाली चेकमा हस्ताक्षर गर्न लगाएर आ’त्मह’त्या गर्न बाध्य बनाएको प्रतिष्ठानको सदस्य विद्या चाम्लिङले समेत बताइन् । ‘प्रमुख कार्यकारी अधिकृतले कर्मचारीलाई गर्ने व्यवहार राम्रो थिएन, हामीले प्रश्न उठाउँदा अध्यक्षले (गुरु बराल) सधैं संरक्षण गर्नु भयो’ उनले भनिन्, ‘केही दिनअघि अर्यालले खाली चेकमा हस्ताक्षर गर्न लगाएर टर्चर दिएका थिए ।’

अर्यालले खाली चेकमा हस्ताक्षर गर्न लगाएपछि आफू तनावमा परेको दाहालले सुनाएको उनले बताइन् । ‘मर्नु न बाँच्नु बनाए भन्दै दाहालले म सँग कुरा गर्नुभयो’ उनले भनिन् ‘हरेश नखानु हामी छौं भन्दै सम्झाए, तर यस्तो घटना भयो ।’

अर्यालले दिएको मानसिक तनावका कारण दाहालले आ’त्मह’त्याको बाटो रोजेको दाबी आफन्तको छ ।

मंगलबार प्रतिष्ठानका अध्यक्ष बरालसहितका नेकपाका नेताहरु मंगलबार मुक्तिनाथको घर पुगेका थिए । तर अर्याललाई संरक्षण गरेको भन्दै आक्रोशित भिडलाई बरालमाथि हातपात गरेको छ । बराललाई प्रहरीले उद्धार गरेको थियो ।