भारतबाट अवैध रुपमा ल्याइएको ६२४० किलो गहुँ बरामद

मोरङ प्रहरीले भारतबाट तस्करी गरी ल्याइएको ६ हजार २ सय ४० किलो गहुँ बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भारतीय सीमासँग जोडिएको जहदा गाउँपालिकाको कुलरियाबाट सो परिमाणको गहुँ प्रहरीले बरामद गरेको हो।

प्रहरीका अनुसार भन्सार छली गरेर अवैध रुपमा सीमा नजिक १० गजा क्षेत्र नजिक भण्डारण गरी राखिएको अवस्थामा सोमबार राती गहुँ बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए। स्थानीय धर्मचन्द्र साहको घरमा भारतबाट अवैध रुपमा तस्करी गरी ल्याएर गहुँ भण्डारी गरिएको राईको भनाइ छ।

ईलाका प्रहरी कार्यालय बुधनगर, ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक दीपक थापा र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा गहुँ तस्करी भएको स्थानमा टोली परिचालन गरी खटिएका थिए।

बेलुका तस्करीमा संलग्न भएकालाई पक्राउ गर्न खटिएको टोलीको आँखा छलेर तीनवटा साइकलमा सीमापारबाट आएकाहरु १० बोरा गहुँ फालेर फरार भएका थिए। १० बोरा गहुँ प्रतिबोरा ६० किलोग्रामले भरिएका थिए। त्यसपछि गोप्य सूचनाका आधारमा प्रहरीले साहको घरमा छापा मारेर भण्डारण गरी राखिएको अवैध गहुँ बरामद गरिएको प्रवक्ता राईले जानकारी दिए।

यसक्रममा साहको भण्डारण गरिएको घरबाट ६० किलो दरका ९४ बोरा र साइकलमा ल्याउँदै गरेको १० सहित १ सय ४ बोरा गहुँ बरामद भएको उनले बताए।

साहले सो क्षेत्रमा गहुँ भण्डारण गर्ने गोदाम र काँटा सञ्चालन गर्दै आएको खुलेको छ। यद्यपि प्रहरीले छापा मार्ने थाहा पाएलगत्तै उनी फरार भएको बताइएको छ। प्रहरीले हाल फरार रहेका साहको सुरु गरेको जनाएको छ। त्यसैगरि, बरामद भएको गहुँ मंगलबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी राईले दिए।

विराटनगर भन्सार हुँदै साउनमा १८ करोड ४४ लाख ४२ हजार ७ सय ३२ रुपैयाँ बराबरको ५५ लाख ७५ हजार ६० किलोग्राम गहुँ भित्रिएको छ। त्यसैगरि भदौमा २३ करोड ७१ लाख ७ हजार ९ सय २६ रुपैयाँ बराबरको ७१ लाख ७७ हजार ८ सय ५५ किलोग्राम गहुँ आयात भएको छ।

यो दुई महिनामा ४२ करोड १५ लाख ५० हजार ६ सय ५९ रुपैयाँ बराबरको १ करोड २७ लाख ५२ हजार ९ सय १५ किलोग्राम गहुँ आयात भएको कार्यालयले जनाएको छ।