‘तै पनि बाँचोस्, मुकाबिला गर्छौं भन्नु त कहाँ हो, मरिहालेहुन्थ्यो भन्छन् !’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हल्का उपचारका लागि सिंगापुर जाने भएपछि विरोधीहरूले ‘मरिहालोस्’ भनेर कामना गर्न थालेको गुनासो गरेका छन् ।

गृह मन्त्रालयमा बुधवार आयोजित संविधान दिवस/ राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा अफवाह फैलाउनेलाई अर्को चुनावसम्म आफ्नो सामना गर्न तयार भएर बस्न चेतावनी दिए ।

‘म भोलि सिंगापुर जाँदैछु, केही दिनका लागि,’ उनले भने, ‘अचम्म लाग्छ, विरोधीहरू कति कमजोर भएछन् भने ऊ बाँचोस् तै पनि मुकाबिला गर्छौं भन्ने छैन । मरिहालेदेखि हुन्थ्यो भनेर …., मलाई त्यस्ता प्रवृत्तिसँग केही भन्नु छैन ।’

प्रधानमन्त्री ओलीले आफू हल्का उपचारका लागि सिंगापुर जान लागेको जानकारी दिए ।

मरे हुन्थ्यो भन्ने चाहनेलाई प्रधानमन्त्रीले आउँदो चुनाव टफ हुने र अस्तित्व रक्षाको लडाईं अहिल्यैदेखि शुरू गर्न चेतावनी दिए।

‘यो मैले किन भनेको भने मरिहालोस् भनेर खुबै प्रचार गरेको हुनाले धेरै निराश होलान् तर हुनुपर्दैन,’ उनले भने, ‘मर्न त मरिन्छ । एक जमानामा, एक समयमा हरेक मान्छे मर्छ । हामी सबै मर्छौं । तर मैले अस्ति एक ठाउँमा भनेको थिएँ १५ वर्ष अगाडि बिमारी थिएँ ।’

प्रधानमन्त्री ओलीले आफू १५ वर्षअघि बिरामी भएको दोहोर्‍याए ।

‘त्यसपछि १५ वर्ष अखडामा सामेल छु, बाँकी १५ वर्ष चाहिँ अखडामा हुन्छु म,’ ओलीले भने, ‘त्यसकारण पूजाअर्चना कतै गरेर हुन्छ भने गर्न दिने मेरो विचार छ ।’