पहिराेले घर भत्किएपछि सुत्केरी खुल्ला आकाशमुनि बस्न बाध्य

उन्नाइस दिनकी सुत्केरी २० वर्षीया विमला नेपाली एक सातादेखि अर्घाखाँची शितगङ्गा नगरपालिका ­१२ कोठियाको पौवामा बसेर शिशुको स्याहारसुसार गरिरहेकी छन्।

यही असोज ९ गते दिउँसो घर पहिराले लगेपछि उनी बच्चालाई लिएर पौवामा बस्नु बाध्य भएकी हुन् ।“बस्दै आएको घर पहिराले भत्किएपछि पौवामा बसेर ज्यान जोगाएका छौँ । बच्चालाई जेनतेन स्याहार गरेकी छु” उनि भन्छिन्, “आफूले पौष्टिक आहार खानुपर्ने समयमा अरुले दिएको राहतको चाउचाउ र बिस्कुटले चार दिन धानियो । पछि राहत आएपछि भात खान पाएको छु ।”

उनी मात्र होइन, २६ दिनकी सुत्केरी सुस्मा नेपाली पनि पौवामा बसेकी छन् । उनी पनि पहिराले घर भत्काएपछि पौवामा आश्रय लिन बाध्य हुनुपरेको छ । शितगङ्गा नगरपालिकामा जमीन भासिएर पहिरो जाँदा ६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरु पाटी पौवा र खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् । वडा नम्बर ११ र १२ मा पहिरो जाँदा झण्डै ३०० घर पहिराको जोखिममा छन् । सो स्थानमा जमीन धुजाधुजा भएर फाटेको छ ।