८ महिनादेखि घरबाटै खर्च मगाउँछन् डाक्टर ; सुरु भयो आन्दोलन

पढाइ सकिएपछि सबैको सपना हुन्छ- राम्रो जागिर होस्। राम्रो कमाइ होस्। बुवा आमालाई खुशी बनाउन सकियोस्।

उनको पनि यस्तै केही थान सपनाहरु थिए। कुनै पूरा भए, कुनै पूरा हुन बाँकी छन्। यसकै लागि संघर्ष गरिरहेका छन्, उनी।

उनले कहिले सोचेका थिएनन्, आफूले काम गरेको पैसा माग्न आन्दोलनमा नै उत्रिनुपर्ला। आफैले काम गरिरहेको संस्थाबिरुद्ध आवाज उठाउनुपर्ला। नसोचेकै गर्नु परेको छ, मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा कार्यरत डा. शरद वलीलाई।

उनी आइतबारबाट अस्पतालका अन्य कर्मचारीसँगै आन्दोलनमा उत्रिएका छन्।

शरदले अस्पतालमा काम गर्न थालेको डेढ वर्ष भयो। काम सुरु गर्दा उनलाई लाग्यो- राम्रो ठाउँमा काम पाइयो। ठाउँ राम्रो भए, काम धेरै सिक्न पाइन्छ।

काम गर्दै जाँदा उनले सोचेभन्दा अस्पताल बिल्कुलै फरक पाए। न त राम्रोसँग काम सिक्ने मौका पाए, न काम गरेको अनुसार समयमै तलब पाए। तर पनि उनलाई लाग्थ्यो, ‘पेसा नै यस्तै हो। हामीले बिरामीको सेवा गर्ने हो। धेरै आशावादी बन्नु हुँदैन।’

यस्तै भन्दै उनी मनलाई सम्झाईबुझाई गरिरहेका थिए। मनलाई सम्झाए पनि उनले भोको पेटलाई लामो समयसम्म सम्झाउन सकेनन्। करिब ८ महिनादेखि तलबबिहीन भएपछि अस्पतालका कर्मचारीसँगै उनी पनि आन्दोलनमा सामेल भए।

शरद लगायत अस्पतालका ८० जना कर्मचारीले आन्दोलन गरिरहेका छन्। अझ केही समय अगाडि २५ जना कर्मचारीलाई बिना सूचना कामबाट निकालियो।

उनीहरु सबैलाई माघ महिनामा आधा तलब दिइएको छ, अस्पतालले। त्यसपछि अहिलेसम्म केही पाएका छैनन्। पटक–पटक आफ्ना समस्या अस्पताल प्रशासनलाई देखाउँदा उनीहरु थकित भए। तर उनीहरुको कुरा सुनेर प्रशासन थाकेन।

अनि सुरु भयो उनीहरुको आन्दोलन।

शरदको परिवार छोराले जागिर गरेपछि खर्च कम हुने आशामा रहे। जागिर गरेपछि आफ्नो खर्च आफै व्यहोर्न सक्छु भन्ने शरदलाई पनि नलागेको होइन।

अहिले उनले सोचेको ठिक उल्टो भएको छ। उनी अहिले पनि आफ्नो दैनिक खर्च, कोठा भाडा घरबाटै माग्छन्। घरमा बुवाआमालाई लाग्दो हो- छोराले जागिर गरेपछि केही सहज होला। तर जागिर गरेको छोराले घरमा खर्च पठाउनुको साटो उल्टै घरबाट पैसा मागेर आफ्नो गुजारा गरिरहेको छ।

अस्पतालले तलब दिन छोडेदेखि शरदले घरबाटै पैसा पाइरहेका छन्।

सुरु सुरुमा घरबाट पैसा पठाइदिँदा एक–दुई महिना त हो भन्ने आफूलाई लागेको शरदले बताए। उनले भने,‘एक दुईपटक माग्न केही भएन। तर अति लामो समयसम्म घरबाटै तलब आएको छैन भन्दै पैसा मागिरहन अप्ठ्यारो भइसक्यो। तर उहाँहरुले आफै बुझेर पठाइदिरहनु भएको छ।’

काम गरे पनि पारिश्रमिक नपाउँदा उनलाई काम नै छोडेर घर जाउँ भन्ने झोँक नचलेको पनि होइन। तर यस्तो कहरका बेला काम छोडेर घर बस्नु उनलाई नैतिकताले नै दिएन। घर जाने हो भने मैले पढेको के काम लाग्यो र?