म्यानपावरको ठगीबारे ‘स्टिङ अपरेशन’, यसरी लुटिन्छन यूवा (भिडियोसहित)

काठमाडौं । स्वदेशमै केही गर्ने उत्साह, फर्किएर नजाने चाहना र थोरै भएपनि थपिएको रोजगारीको अबसरका कारण पछिल्ला वर्ष वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्दै आएको छ ।

अघिल्लो आर्थिक वर्षमा मात्रै ३३ प्रतिशतले घट्यो । तर, व्यवसायी ‘फ्रि भिसा–फ्रि टिकट’का कारण मागमै कमी आउँदा जाने स्वतः घटेको ‘कुतर्क’ गरिरहेका छन् । किनकी ‘फ्रि भिसा–फ्रि टिकट’को प्रावधानले पहिलाजस्तो सोझै ठग्न पाइएको छैन । तर, ठगका हजार दाउ भने झैं बानी परेकोले १० हजारको रसिद दिएर लाखभन्दा बढी असुल्ने धन्दा भने चलिरहेको रहेछ ।

फितलो नियमन र कारबाहीको दर कम हुँदा व्यवसायी सरकारी नीति हाक्का–हाक्की उलंघन गरेर अझै ठूलो स्वर गरिरहेका छन् । र, त्यसको मार ऋण गरेर परदेशिने यूवामा परिरहेको छ ।

‘फ्रि भिसा–फ्रि टिकट’को प्रावधान बर्खिलाप गएर ठगि गर्ने शिवाकोटी म्यानपावर एक्लो कम्पनी भने होइन् । प्रायः सबै कम्पनीले १ लाख बढी लिएर १० हजारको रसिद थमाइदिएर लुटको साम्राज्य चलाइरहेका छन् अहिले पनि । जसलाई साउन पहिलो साता राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले पनि पुष्टी गर्छ ।

सरकारको नीति विपरित गएर कामदारलाई ठग्ने म्यानपावर व्यवसायीमाथि वैदेशिक रोजगार ऐनअनुसार कडाइका साथ कारबाही नभएको आयोगको पनि निश्कर्ष छ । शिवाकोटी म्यानपावरको ठगी धन्दासँग जोडिएको थप सन्दर्भ अबको क्रममा ।

सरकारले खाडी र मलेसियाका लागि लागू गरेको ‘फ्रि भिसा–फ्रि टिकट’को व्यवस्था कार्यान्वयन नहुँदा ताप्लेजुङका पासाङ तामाङ र प्रकाश शेर्पाजस्ता सयौ यूवा दिनहुँ दलालको शिकार बनिरहेका छन् । ज्यादै कम तलब र जोखिमपूर्ण कामका लागि थोरै खर्चिएर विदेशिन पाउने व्यवस्था कार्यान्वयन नहुँदा यूवाहरु चर्को व्याजमा ऋण खोजेर दलाल वा विदेश पठाउने कम्पनीलाई पोसिरहेका छन् ।

कम्पनीले लिएको पैसाअनुसार रसिद नदिँदा ठगिएको बुझ्दा–बुझ्दै पनि तिनका लागि गुहार माग्ने बाटो बन्द छ । नौ–जवानले भोगिरहेको यो पीडामा चिन्ता गर्ने धेरै छन् । तर, समाधान कसले र कहिले गर्ने हो यकिन छैन ।