यी हुन् काठमाडौंमा १० लाख भन्दा कम मूल्यमा घडेरी पाइने १२ ठाउँ

काठमाडौं उपत्यकामा घडेरीको मूल्य अचाक्ली बढेर मध्यम वर्गको घर सपना धेरै टाढा पुगिसकेको छ । एउटा सामान्य जागिरे व्यक्तिले काठमाडौंमा जग्गा किनेर घर बनाउन नसक्ने स्थिती छ ।

रिङरोडबाट ८–१० किलोमिटर बाहिर पुग्दा पनि टुक्रा जग्गाको आनाकै २० लाख रुपैयाँभन्दा बढी तिर्नुपर्छ । रिङरोड र ठूलो सडकको आसपासतिर जग्गाको मूल्य उछालिएर चुलीमै पुगिसकेको छ । उपत्यकाको कुनामै पुग्दा पनि टुक्रा जग्गा किन्न आनाको १० लाखभन्दा बढी बुझाउन पर्छ । आनाको १० लाखभन्दा कम मूल्यका टुक्रा जग्गा भेट्याउनै मुस्किल पर्ने भइसक्यो ।

हामी तपाइँलाई काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा अझै पनि आनाको १० लाख रुपैयाँभन्दा कम मूल्यमा टुक्रा घडेरी पाइने ठाउँका बारेमा जानकारी गराउँदै छौं ।

१) इचंगुनारायण, काठमाडौं

काठमाडौंको नागार्जुन नगरपालिकाको इचंगुनारायणतिर अहिले पनि आनाको ८ देखि १० लाख रुपैयाँसम्म जग्गा किन्न पाइन्छ । केटीएम रियलस्टेट प्रालिका सञ्चालक राजकुमार लामाका अनुसार १० देखि १३ फिटे बाटोमा जोडिएका टुक्रा जग्गाहरु १० लाखभन्दा कम मूल्यमै पाइन्छन् । यो ठाउँ सितापाइला चोकदेखि करीव तीन किलोमिटर दुरीमा पर्छ ।

२) काभ्रेस्थली (माथिल्लो भाग), काठमाडौं

समृद्धि घरजग्गा प्रालिका सञ्चालक जीवन लामाका अनुसार तारकेश्वर नगरपालिकामा पर्ने काभ्रेस्थलीको माथिल्लो भेगतिर शान्तीधाम एरियामा पनि आनाको १० लाखसम्म टुक्रा जग्गाको कारोबार भाइरहेको छ । उनी भन्छन्, ‘यदि सानो बाटोमा ठूलो क्षेत्रफलको जग्गा उठाएमा आनाकै ५ देखि ६ लाखमा पनि पाइन्छ ।’

३) माथिल्लो दहचोक, काठमाडौं

चन्द्रागिरी नगरपालिकाको दहचोकको माथिल्लो भेग कालु पाण्डेको समाधिस्थल वरिपरि आनाको ६ देखि १० लाख रुपैयाँसम्मको जग्गा पाइन्छ । बुद्धम रियलस्टेटका सञ्चालक रमेश खनालका अनुसार दहचोकको भिरालो ठाउँमा १३ फिटे बाटोमा सटिएका जग्गा १० लाखभन्दा कम मूल्यमै किन्न पाइन्छ ।

पोपर्टी ३६० का म्यानेजर सुनिल शाहीका अनुसार दहचोकको माथिल्लो भेगमा ढलान गरेको र कच्ची सडकमा सस्तोमै जग्गा पाइन्छ । दहचोकको फाँटमा भने आनाकै २०/२५ लाख रुपैयाँ मूल्य पुगिसकेको छ ।

४) मातातिर्थ, काठमाडौं

चन्द्रागिरी नगरपालिकाको मातातिर्थको चन्द्रागिरी जंगलसँग जोडिएको ठाउँतिर पनि अझै ८ देखि १० लाख आनाको जग्गा किन्न पाइन्छ । मातातिर्थमा रहेको मन्डला स्टुडियो योगा एन्ड स्पा सेन्टर वरिपरि ७ देखि १० लाख रुपैयाँ आनामा चिटिक्क मिलेका टुक्रा जग्गाहरु किन्न पाइन्छ ।

५) किर्तिपुर, काठमाडौं

किर्तिपुर नगरपालिकाको भत्तेकपाटी जंगलसँग सटिएको ठाउँतिर पनि आनाको १० लाखभन्दा कम मूल्यमा जग्गा पाइन्छन् । जालपादेवी मन्दिर, पुष्पलाल पार्क, बाघभैरव मन्दिर, चुनदेवी मन्दिरको आसपासमा पनि सस्ता जग्गा भेटिन्छन् ।

दक्षिणकालीमा पनि आनाको १० लाखभन्दा कम मूल्यका जग्गा पाइने रियलस्टेट एजेन्सी बताउँछन् ।

६) तारेभिर, काठमाडौं

अझै पनि गोकर्णेश्वर नगरपालिकाको सुन्ताखानको माथिल्लो भागमा (तारेभिरबाट तल) ढलान गरेको बाटोसँग जोडिएको घडेरी आनाको ८ देखि १० लाख रुपैयाँसम्म किन्न पाइने टाउनसिप पोपर्टीका देबेन्द्र दाहाल बताउँछन् ।

७) जहरसिंग पौवा, काठमाडौं

शंखरापुर नगरपालिकाको जहरसिंह पौवा, चौकी भन्ज्याङ, लप्सेफेदी, नाङ्लेभारे लगायत ठाउँमा पनि १० लाखभन्दा कम मूल्यमा घडेरी पाइन्छन् । पोपर्टी ३६० का सुनिल खड्गीका अनुसार ती क्षेत्रहरुमा गोरेटो बाटोदेखि १३ फुटे बाटासम्म जग्गा सस्तो मूल्यमा उपलब्ध रहेका छन् ।

८) सुडाल, भक्तपुर

भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्ने सुडालको आसपास पनि आनाको ६ लाखदेखि १० लाख रुपैयाँसम्मका जग्गा पाइन्छन् । गोरेटो बाटो र एकमुष्ठ धेरै जग्गा उठाएमा अझै सस्तोमा जग्गा पाइने टाउनसिप प्रोपर्टीका सञ्चालक देबेन्द्र दाहाल बताउँछन् ।

९) बागेश्वरी, भक्तपुर

चांगुनारायणको छालिङ र बागेश्वरी आसपासमा पनि १० देखि १३ फुटे बाटोमा १० लाखभन्दा कम मूल्यमा टुक्रा जग्गाहरु किन्न पाइने घरजग्गा बजारका केदार बान्तवा बताउँछन् ।

१०) डोलेश्वर

भक्तपुरको डोलेश्वर महादेव मन्दिर वरिपरि पनि १० लाखभन्दा कम मूल्यमा जग्गा भेटिन्छन् । भक्तपुर र काभे्रको सिमाना साँगातिरको भित्रपट्टी पनि ८/१० लाख रुपैयाँ आनमा जग्गा किन्न पाइन्छ । भक्तपुरको विद्युत प्राधिकरणको तालिम केन्द्रदेखि नगरकोटतिर जाने बाटोको दायाँबायाँ भित्री क्षेत्रमा पनि आनाको ६ देखि १० लाखसम्म जग्गा किन्न पाइन्छ ।
तेलकोटको भित्रपट्टी १० लाखभन्दा कम मूल्यका जग्गा पाइन्छन् ।

११) मुलडोल (चापागाउँ), ललितपुर

चापागाउँ बसपार्कबाट ५०० मिटरदेखि १ किलोमिटरसम्मको दुरीमा रहेका मुलडोल, लेले आसपासको क्षेत्रमा पनि आनाको १० लाखमुनिका जग्गा पाइन्छन् । धेरै जग्गा उठाउँदा आनाको ४/५ लाखमै पाइने बालकुमारी लेखापढीका बिकी महर्जन बताउँछन् । यो क्षेत्रमा ८ देखि १३ फिटसम्मको बाटोमा टुक्रा जग्गा लिँदा आनाको ८ देखि १० लाखसम्म किन्न पाइन्छ ।

१२) बडीखेल, ललितपुर

गोदावरी नगरपालिकाको गोदावरी भिलेज रिसोर्टबाट दुई÷तीन किलोमिटरको दुरीमा बडीखेल आसपासमा आनाको ८ देखि १० लाखसम्म पाइन्छ । सन्तानेश्वर महादेव मन्दिर आसपास झरुवारासी भन्ने ठाउँमा पनि १० लाख हाराहारीमा जग्गा पाइन्छ । गोरेटो बाटोमा एकमुष्ठ जग्गा उठाएमा आनाको ८ लाखमै किन्न सकिन्छ ।

चापागाउँको बाहिरपट्टी पनि अझै ८/१० लाख रुपैयाँ आनाको मूल्यमा जग्गा खरिद गर्न सकिन्छ ।