रुसी कोरोना भ्याक्सिन ल्याउनेबारे कुनै प्रक्रिया अघि बढेको छैन

रुससँग अढाइ करोड डोज कोरोना भाइरसबिरुद्ध खोप ल्याउने सहमति भएकोबारे कुनै जानकारी नभएको नेपाल सरकारले बताएको छ। ‘कोरोना भाइरसविरुद्धको खोप रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपाल ल्याउने कुनै पनि सम्झौता भएको हामीलाई थाहा छैन’, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने।

नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सले मंगलबार कोरोना भाइरस विरुद्धका लागि २ करोड ५० लाख रुसी भ्याक्सीन ‘स्पुतनिक–५’ भित्र्याउने सम्झौता भएको बताएको थियो।

नेपाल भित्र्याउने भनिएको खोप मानवीय परीक्षणको पहिलो चरणको कार्यपत्र तयार गरेर दोस्रो चरणमा क्लिनिकलमा परीक्षण गरेको रिपोर्ट ल्यानसेट मेडिकल जर्नलमा प्रकाशित गरिएको जनाएको छ।

अहिले विश्वमा कुनै पनि खोप कोरोना भाइरसविरुद्ध सुरक्षित र प्रभावकारी भनेर पत्ता लागिसकेको छैन। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ४० भन्दा बढी खोप मानवीय परीक्षणको विभिन्न चरणमा रहेका छन्।

उक्त खोप ‘ह्युमन एडेनोभाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित रहेको बताइएको छ। रुस सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको यो खोपलाई राष्ट्रपति ‘भ्लादिमिर पुटिन’की छोरीमाथि सफल परीक्षण गरिएको दाबी समेत गरिएको छ।

वर्षौँदेखिको अध्ययनबाट विकास गरिएको खोप भएका कारण यसको प्रभावकारितामा कुनै शंका नभएको भन्दै फन्डले नेपालसँग गरिएको सम्झौतासम्बन्धी आफ्नो वेबसाइटमा समाचार प्रकाशित गरेको छ।

रुस सरकारका अनुसार खोपको अन्तिम नतिजा ढिलोमा आउँदो नोभेम्बरसम्ममा सार्वजनिक हुने छ।

रुसमा बनेको खोपको विश्वसनीयता तथा प्रभावकारितालाई लिएर विश्वव्ययापी रुपमा ठूलो प्रश्न चिन्ह उठेको छ।

यहीबीचमा विश्व स्वास्थ्य संगठनबाट स्वीकृति नै नपाएको खोप ल्याउने सम्झौता बारे आफूलाई कुनै पनि जानकारी नभएको डा. प्रदीप ज्ञवालीले बताए।

‘हामीलाई अफिसियल्ली थाहा छैन। हामीले ट्रिनिटी भन्नेले रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँग सम्झौता गरेको छ, भन्ने सुनेका छौँ। के हो, आधिकारिक जानकारी छैन। तर कुनै पनि औषधीको ट्रायल नगरी अहिलेको अवस्थामा प्रयोग गर्न पाइँदैन’, उनले भने, ‘मन्त्रालयको प्रोटोकल अनुसार गरिएको होइन। परिषद्सँग टेक्निकल सपोर्ट अर्थात रिसर्चको सपोर्ट नलिई कुनै पनि कम्पनि नेपालमा छिर्न पाउँदैनन्।’

कोरोना भाइरसविरुद्ध बन्दै गरेका खोपमाथि टिप्पणी गर्दै चिकित्सकले भन्दै आएका छन्, ‘प्रमाणित नभएका खोप जथाभावी प्रयोग गर्दा स्थिति अझै भयावह हुन सक्छ।’
अझ नेपाल ल्याउने भनिएको खोप परीक्षणको चरणमै छ।