मोटरसाइल तथा स्कुटर किन्न अफरैअफर

लकडाउन तथा निषेधाज्ञाका कारण थलिएको अटोमोबाइल बजार चाडपर्व नजिकिएसँगै चलायमान हुने अपेक्षा व्यवसायीहरुको छ। कारको बजार अपेक्षाकृत सुधार हुने नसकेको भएपनि मोटरसाइकल तथा स्कुटरको बजार भने लयमा फर्कने क्रममा रहेको छ। मोटरसाइकल तथा स्कुटरको माग उल्लेख्य रहेको व्यवसायीहरुको भनाइ छ।

नेपाली बजारमा दुई दर्जनभन्दा बढी ब्रान्डका मोटरसाइकल उपलब्ध रहेका छन्। चैत ११ मा लकडाउन भएदेखि जेठसम्म मोटरसाइकल बिक्री ठप्प थियो। असार र साउनमा मोटरसाइकल बिक्री राम्रो भएपनि भदौ ३ देखि सरकारले उपत्यकालागायत देशमा अधिकांश स्थानमा निषेधाज्ञा जारी गरेको थियो। ३ साताको निषेधाज्ञामा पनि सवारी बिक्री ठप्पप्रायः थियो। निषेधाज्ञा हटेसँगै दुईपांग्रे सवारीको बिक्री भने बढ्न थालेको हो।

मोटरसाइकल तथा स्कुट बिक्री हुन थालेको र चाडपर्व सुरु हुन लागेकाले विभिन्न मोटरसाइकल बिक्रेता कम्पनीहरुले ग्राहक केन्द्रित योजना सर्वाजनिक गरिरहेका छन्। अहिलेसम्म बजाज, यामाहा, टिभिएस, होन्डा, हिरो, सुजुकी लगायत कम्पनीले स्किम घोषणा गरेका छन्।

कम्पनीहरुले घोषणा गरेको अफर योजनामा सबैभन्दा बढी नगद छुट सुजुकी र बजाजले सबैभन्दा धेरै नगद छुटको घोषणा गरेका छन्। त्यस्तै सबैभन्दा कम नगद छुट दिनेमा होन्डा रहेको छ। सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता भिजी सुजुकीले आफ्ना उत्पादनमा १२ हजारसम्म नगद छुट दिने जनाएको छ।

त्यस्तै बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले मोटरसाइकलका खरिदमा १० हजार नगद छुटको स्किम ल्याएको छ। बजाजले ग्राहकलाई आफ्नो आवश्यकताअनुसारको शून्य प्रतिशत ब्याजदर, २० प्रतिशत डाउन पेमेन्टलगायत अफर समेत घोषणा गरेको छ।