लोकसेवामा विज्ञापन खुलाउन मन्त्री त्रिपाठी र सचिव गौतमबीच खटपट

यस वर्ष लोकसेवा आयोगमा विज्ञापन खुलाउने वा नखुलाउने विषयमा संघीय मामिला मन्त्री हृदयेश त्रिपाठी र मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमबीच खटपट भएको छ । विज्ञापन खुलाउनु अघि संघीय मन्त्रालयले रिक्त पदहरुको विषयको विवरण आयोगमा पठाउनु पर्छ । मन्त्रालयले पठाएको विवरणको आधारमा आयोगले विज्ञापन खुलाउने गर्छ । तर यस वर्ष आयोगमा रिक्त पदहरुको विवरण मन्त्रालयमा पठाउने वा नपठाउने विषयमा संघीय मन्त्रालयले टुंगो लगाउन सकेको छैन ।

स्रोतका अनुसार संघीय मामिला सचिव गौतमले आयोगमा रिक्त पदहरुको विवरण पठाउन प्रस्ताव तयार गरेका छन् । तर उक्त प्रस्तावलाई मन्त्री त्रिपाठीले भने रोकिदिएका छन् । आयोगमा विवरण पठाउने वा नपठाउने विषयमा मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने त्रिपाठीको भनाइ छ । सचिव गौतमले भने रिक्त पदहरुको विवरण आयोगमा पठाउन मन्त्रिपरिषदले निर्णय गर्न आवश्यक नपर्ने तर्क राखेका छन् ।

गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोगलाई आयोगका सबै परिक्षा स्थगित गर्न आग्रह गर्ने निर्णय गरेको थियो । सरकारको आग्रह पछि आयोगले प्रक्रिया सुरु गरिएका परिक्षा समेत स्थगित गर्ने निर्णय गरेको थियो । आयोगमा रिक्त पदहरूको विवरण पठाउन वैशाख १४ गतेको निर्णय आकर्षित नहुने सचिवको भनाइ छ । ‘वैशाख १४को निर्णय यसअघि सुरु गरिएका परिक्षा रोक्नकोलागि आग्रह गर्ने निर्णय हो तर आयोगमा रिक्त पदहरुको विवरण पठाउन उक्त निर्णयसँग सम्बन्धित छैन’ सचिव गौतमलाई उदृत गर्दै स्रोतले बतायो ।

यसअघि हरेक वर्ष आयोगले ८ देखि १० हजार पदमा विज्ञापन आब्हान गर्ने गर्थ्यो । तर यस वर्ष मुलुक संघीयतामा गएकोले आयोगले संघकोलागि मात्र विज्ञापन खुलाउने गर्छ । त्यसैले यस वर्ष आयोगले विज्ञापन खुलायो भने करिब ४ हजार पदहरुमा मात्र आब्हान गर्ने अनुमान छ ।