कक्षा ११ को परीक्षा तालिकाबारे विद्यार्थी सडकमा

उच्च माध्यमिक विद्यालय सञ्चालकहरुको संगठनले असोज २५ देखि कार्तिक ३ गतेसम्म परिक्षा सञ्चालनको तालिका सार्वजनिक गरेसंगै विद्यार्थीहरु विरोध जनाएका छन्।

कोरोनाको महामारी विराटनगरमा बढ्दै गइरहेको अवस्थामा परिक्षा सञ्चालनको तयारी गरेसंगै विद्यार्थी सडकमा उत्रिएकाछन्।

विद्याथीहरुले संगठनहरुको दवाबमा महानगरपालिकाले परिक्षा तालिका सार्वजनिक गरेको भन्दै सोमबार महानगरपालिका घेराउ गरेका छन्।

महानगरका शिक्षा प्रमुख दुर्गा खतिवडाले कक्षा ११ को परीक्षाका लागि विद्यालयहरुले समन्वय गर्नका लागि आग्रह गरेपछि अघि बढेको बताए।

यसक्रममा सुरक्षा सतर्कता अपनाएर सुरक्षित रुपमा परिक्षा सञ्चालनका लागि विद्यालय तयार भएपछि आफूहरुले सहजीकरण मात्र गरेको उनको भनाइ छ।

अर्कोतर्फ, नजिकिदो दशैको पूर्वसन्ध्यामा अभिभावकहरुबाट रकम असुल्न तालिका सार्वजनिक गरिएको कक्षा ११ का शशांक पाठकले बताँउछन्। अर्का विद्यार्थी संरक्षण देवकोटाले शुल्क संकलन गर्न परिक्षाको तयारी गरिएको भएपनि यसले भोली कोरोनाको संक्रमणलाई थप जोखिम बनाउने उल्लेख गरे।

हिसान मोरङका अध्यक्ष राजेश कार्कीले विद्यार्थीबाटै शुल्क उठाएर शिक्षकलाई तलब खुवाउनुपर्ने अवस्था भएको बताँउछन्। सुरक्षा सतर्कतासहित परीक्षा सञ्चालन गर्न सकिने बताएका कार्कीले परीक्षामा सहभागि हुँदैमा कोरोना सर्छ भन्ने कुरामा विमती राख्छन्।

त्यसैगरि, अभिभावकसँग शुल्क तिर्न नसक्ने अवस्था रहे केही समय थाती राख्न सकिनेमा उनले जोड दिए। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेको छ।

विराटनगर महानगरपालिकामा कक्षा ११ र १२ पढाई हुने ३७ वटा विद्यालय छन्। जसमा २६ वटा निजी स्तरका विद्यालयमा प्रदेश १ र २ का करिब ८ हजार विद्यार्थी अध्ययनरत छन्।