टेलिकमको आकर्षक अफर,९९ रुपैयाँमै अनलिमिटेड टकटाइम सँगै ५ जीबी डेटा

नेपाल टेलिकमले ‘पाठशाला सीयूजी सिम’ सार्वजनिक गरेको छ । सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकालाई उनीहरुको परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गर्ने यो सिम कार्डको सुरुवात गरिएको हो ।

यसअन्तर्गत नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्र (सीईएचआरडी) सँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्क कायम गराउने उद्देश्यका साथ प्रिपेड मोबाइल ‘पाठशाला सीयूजी सिम’ निःशुल्क उपलब्ध गराउने भएको हो ।

प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको क्लोज युजर ग्रुप (सीयूजी) मा आबद्ध गराएर मासिक ९९ (टीएससी, भ्याट, ओटी बाहेक) रुपैयाँमा क्लोज्ड ग्रुपभित्र असिमित कुराकानी गर्न सकिने छ ।

त्यस्तै शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट चलाउन ५ जीबी डेटा सेवा र बल्क एसएमएस सुविधा समेत उपलब्ध गराउने छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा कक्षा १ देखि १० सम्मका सबै पाठ्यक्रम र पाठ्यसामग्री उपलब्ध छन् ।

सो प्रिपेड सिमकार्डबाट शिक्षक–विद्यार्थी र अभिभावकबीच असिमित कुराकानी गर्न, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेब पोर्टल निःशुल्क चलाउन र शैक्षिक प्रयोजनका लागि बल्क एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ ।

यदि कुनै विद्यालयका विद्यार्थी, शिक्षक र परिवारका सदस्यसँग नेपाल टेलिकमको सिम नभएको अवस्थामा मागअनुसार कम्पनीले सिम निःशुल्क उपलब्ध गराउने छ ।

यो सेवा अन्तर्गत प्रत्येक विद्यार्थी र शिक्षकले निःशुल्क प्राप्त गर्ने सिमकार्डका लागि शिक्षक र विद्यार्थीको नागरिकता र परिचयपत्रको फोटोकपी, अभिभावकको नागरिकताको फोटोकपी र एक प्रति फोटो उपलब्ध गराउनुपर्ने छ ।

विद्यार्थीले सिमकार्ड आफ्नै वा अभिभावकको नाममा लिन सक्नेछन् । विद्यार्थी वा अभिभावकलाई उपलब्ध गराइने ‘पाठशाला सीयूजी सिम’ विद्यालयले रितपूर्वक भरिएको फाराममा स्थानीय निकायबाट सिफरिस लिई नजिकको नेपाल दूरसञ्चार कम्पनीको कार्यालयबाट एकमुष्ट लिन सक्नेछन् ।