चीनले हजाराैँ मानिसहरुलाई दियाे अप्रमाणित खाेप

कोरोना भाइरसविरुद्ध अहिलेसम्म सुरक्षित र प्रभावकारी खोप पत्ता लागेको छैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अहिले ४० भन्दा बढी सम्भावित खोपहरु मानवीय परीक्षणको विभिन्न चरणमा छन्।

खोप तीव्र गतिमा विकासको प्रयास भइरहँदा त्यसको सुरक्षात्मक क्षमता र प्रभावकारितालाई लिएर चासो र चिन्ता समेत व्यक्त हुँदै आएको छ। यहिबीचमा चीनले अप्रमाणित अर्थात विकासको क्रममै रहेको कोरोना भाइरसविरुद्धको खोप हजारौँ मानिसलाई दिइरहेको खुलेको छ।

द न्यूर्योक टाइम्समा प्रकाशित भएको खबर अनुसार चीनले अप्रमाणित खोप सरकारको स्वामित्वमा रहेको कम्पनीका कामदार, सरकारी अधिकारी, खोप कम्पनीका कर्मचारीसहितलाई लगाइ सकेको छ।

यस्तै शिक्षक, सुपरमार्केटका कामदार तथा जोखिमयुक्त क्षेत्रको यात्रामा निस्कनेहरुलाई प्रमाणित नभईसकेको अर्थात विकासको क्रममा रहेको खोप दिने तयारी गरेको छ।

विश्वले प्रमाणित खोप पाएको छैन, तर यसले चीन सरकारलाई रोकेको छैन। उसले निर्माणको चरणमा रहेको खोप दशौँ हजार मानिसलाई दिइएको छ, जो परम्परागत परीक्षणको प्रक्रिया भन्दा बाहिरका हुन्।

चीनमा परीक्षणको परम्परागत प्रक्रिया भन्दा बाहिरका व्यक्तिलाई पनि खोप दिइएको र सो खोप पाएकाहरु निगरानीमा रहे–नरहेको पनि स्पष्ट नभएको न्यूयोर्क टाइम्सको खबरमा उल्लेख छ।

अप्रभावकारी खोपले सुरक्षाको गलत अवधारणा सिर्जना गरी झन बढी संक्रमण तर्फ बढाउन सक्ने जोखिम रहन्छ ।