‘मन त थिएन मुग्लान जानलाई तर छाक टार्नै गाह्रो !

पाँच वर्षदेखि भारतको गुजरातमा मजदुरी गरिरहेका र कोरोनाकै कारण तीनमहिना अघि स्वदेश फर्कन बाध्य रमेशलाई अब त्यसतर्फको यात्रा गर्न पटक्कै मन छैन। त्यति बेलामा भेट्दा रमेशमा देखिएको उत्साह अहिले हराएको छ। त्यतिबेला उनले भनेका थिए, ‘अब भारत गइँदैन। आफ्नै ठाउँमा केही राम्रो काम गर्ने हो। सरकारले पनि हातमा सिप हुनेलाई रोजगारी दिने भनेको छ।’ तर यो बीचमा यहाँ रमेशले त्यस्तो कुनै अवसर पाएनन्। बरु निराशा मात्रै बढ्दै गयो।

कोरोना कारण धेरैको जनजीवन कष्टकर बन्दै गएको सुन्दा सुर्खेत वीरेन्द्रनगर नगरपालिका ७ सुकुम्बासी टोलका १७ वर्षीय रमेश नेपाली थप विचलित हुन्छन्। लकडाउनका बेला ‘मरेपनि आफ्नै थातथलोमा मर्ने’ भन्दै कोही नदीमा हेलिँदै फर्किए । कोही सयौँ किलोमिटरको दूरी पैदल नै पार गरेर आए। कोही गाडीमा कोच्चिएर आए।

उनीहरुमध्ये कयौँ कोरोना संक्रमण बोकेर आउन बाध्य भए। त्यही भएर पनि रमेश घर फिर्दा भोगेको कष्ट सम्झन चाहन्नन् । तर घर फर्केयताको तीन महिनाले उनलाई धेरै कुराको अनुभव गरायो।

रमेशजस्तै नियति भोगेकै कारण लकडाउनका बेला गाउँघर फर्केका हजारौं युवाको ताँती देखिन्छ सीमा नाकामा भारत जानका लागि । यही ताँतीले गर्दा छिमेकी मुलुक भारतसँगका सीमा नाकाको दृश्य एकाएक फेरिएको छ ।

रमेशलाई भारत जान पटक्कै मन छैन । तर, आर्थिक अभाव र बेरोजगारीले उनी विवश छन् । दिन बित्दै जाँदा परिवार आर्थिकरुपले टकटकिँदै गएको छ। भारतकै ज्याला मजदुरीमा निर्भर उनको परिवारलाई अब दुई छाक जोहो गर्न मुस्किल हुन थालेको छ । गाउँघरमा एक त काम नपाउने पाइहाले पनि निकै कम ज्याला ।

छाक टार्नै गाह्रो । रमेशसँग सीप नभएको होइन । लामो समय होटलमा काम गरेकाले दर्जनभन्दा बढी भारतीय परिकार बनाउन पनि जानेका छन् उनले । तर, मुख्य समस्या उनको त्यो सीपलाई पत्याउने कोही भेटिएनन् । न त उनीसँगै आफ्नै लगानीमा खाजाघर खोल्ने सामथ्र्य नै छ ।

गुजरातबाट फर्केपछि अब उता नफर्कने उद्देश्यसहित लकडाउन खुलेपछि केही दिन ‘मजदुरी’ काम पनि गरे उनले। तर श्रम अनुसारको मुल्य पाएनन्। त्यसले उनलाई झनै निराशा बनायो । त्यही भएर फेरि पनि जोखिम बोल्दै झोलीगुन्टा बोकेर गुजरातनै लाग्ने निर्णयमा पुगेका छन् उनी।

भन्छन्, ‘उताको जस्तो यहाँ काम पनि पाउँदैन। व्यवसाय गर्न लगानी गर्ने क्षमता छैन। अनि भारत नगएर के गर्नु ?’ जबकि केन्द्र सरकारले ‘आर्थिक बिपन्न’ लक्षित गर्दै घोषणा गरेका नीति, नियम र कार्यक्रमहरुले रमेशजस्ता भारतबाट फर्केर स्वदेशमै रोजगारी पाउने आशमा रहेका युवाको पहिचान गर्न सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक स्वदेश फिरेका युवालाई अब विदेश जान पर्दैन भन्ने संबोधनले स्वदेशमै जीवन जोगाउने र स्वदेशमै त्यसको स्थायीत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, ती प्रतिबद्धताहरु व्यवहारमा लागू भएका छैनन् ।