दुई थान पेस्तोलसहित काठमाडौ माछापोखरीबाट दुईजना युवक पक्राउ

काठमाडौं । काठमाडौंको माछापोखरीबाट प्रहरीले दुई थान पेस्तोलसहित दुई जनालाई पक्रेको छ । महानगरीय अपराध महाशाखाले नुवाकोट शिखरबेसी–६ घर भएका २७ वर्षीय बिकेश पण्डित र नुवाकोट लिपु गाउँपालिका–१ घर भएका २८ वर्षीय अमर तामाङलाई पक्राउ गरेको हो ।
बिकेश र अमरको साथबाट ‘मेड इन युएस’ लेखिएको दुईथान पेस्तोल, म्यागजिन र १० राउण्ड गोली बरामद गरिएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले रातोपाटीलाई जानकारी दिए ।

प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटी नेतृत्वको टोलीले बुधवार मध्यान्ह माछापोखरीबाट पक्राउ गरेको बिकेशको बयानका आधारामा पेस्तोल कारोबारमा अमरको संलग्नता खुलेको थियो ।

महाशाखाले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँगको समन्वयमा अमर तामाङलाई नुवाकोटबाट पक्राउ गरेको हो । अमर डाका मुद्धामा ६ वर्ष २ महिना जेल बसेर ०७६ फागुनमा रिहा भएका थिए ।

अमरले सो पेस्तोल ‘हात हतियार तथा खरखजना मुद्धा’मा सँगै कारागार बसेका धनुषाका शम्भु कार्कीको भएको प्रहरीलाई बताएका छन् ।
कार्कीले सो पेस्तोल हाल लागुऔषध मुद्धामा कारागारमा रहेका धादिङ खाल्टेका राजकुमार गुरुङलाई राख्न दिएको र उनले बालाजुका एक होटल संचालकलाई राख्न दिएका थिए । बिकेश पण्डितले होटल संचालकबाट सो पेस्तोल लिएका थिए ।