पटक-पटक ‘सैन्य कू’ हुँदै आएको मालिमा नागरिक सरकार गठनको तयारी

काठमाडौँ – सैनिकहरूले नियन्त्रणमा लिएको केही घन्टापछि राष्ट्रपति इब्रहिम बुबाकार केयटाले राजीनामा दिएपछि त्यहाँ नागरिक सरकार गठनको तयारी भएको छ । सैनिक विद्रोहमा संलग्नहरूले देशलाई थप अराजकताबाट जोगाउन उक्त कदम चालेको उल्लेख गर्दै अब नागरिक सरकार गठन गरिने बताएका हुन् । राजधानी बमाकोमा बोल्दै मालीका सैन्य अधिकारीहरूले अब नागरिक सरकार गठन गरेर शक्ति हस्तान्तरण गर्ने बताएको बीबीसीले जनाएको छ ।
सैनिकको नियन्त्रणमा परेपछि राष्ट्रपति केयटाले शुक्रबार नै राजीनामा दिएका थिए । त्यसलगत्तै उक्त घटनामा सामेल सैन्य अधिकारीहरूले विपक्षी नेतासँग पनि भेट गरेका थिए । उक्त वार्तामा सरकारविरोधी प्रदर्शनहरूको अगुवाइ गरेका धार्मिक अगुवा महमुद डिकोले अव त्यस्ता विरोध प्रदर्शन नगर्ने समझदारी बनेको बताइएको छ । दोस्रो कार्यकालयको निम्ति सन् २०१८ को चुनावमा निर्वाचित भएका केयटाले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, आर्थिक अवस्था नाजुक बनाएको तथा संसदीय चुनावमा पनि धाँधली गरेकोजस्तो आरोप खेप्दै आएका थिए । यसैकारण उनी ३ महिनादेखिको आन्दोलन झेल्दै आएका थिए ।
ठूलो प्रदर्शनलाई बेवास्ता गर्दै अघि बढेका उनलाई शुक्रबार सेनाको एउटा समूहले नियन्त्रणमा लिएको थियो । लगत्तै उनले राजीनामा दिएका थिए । तर, सेनाको उक्त कदमको अन्तर्राष्ट्रिय स्तरबाट निन्दा भइरहेको छ । विश्वका गरिब देशहरूमध्येमा पर्ने मालीमा पटक-पटक ‘सैन्य कू’ हुँदै आएको छ ।