सरुवा भएर आएका ६ प्रहरीमा कोरोना

विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका ६ जना प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट २३ साउनमा सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाइ आएका ११ जना प्रहरी जवानमध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सरुवा भएर खोटाङ आएका सबै प्रहरी क्वारेन्टाइनमा बसेकाे खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए । ‘सरुवा भएर खोटाङ आएलगत्तै उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालयमै निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ’, उनले भने, ‘साउन २९ गते पिसिआर परीक्षण गर्न उनीहरुसँगै १३ जनाको स्वाब पठाइएकामा ६ जनामा कोरोना भाइरस देखियाे ।’

संक्रमित हुने प्रहरी २० देखि २५ वर्ष उमेर समूहका छन् । संक्रमित सबै जनालाई जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखेर उपचार गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
दश स्थानीय तह रहेको जिल्लामा ६ प्रहरीसहित संक्रमित हुनेको संख्या १९ पुगेको छ ।