गाउँपालिकाको बजेट आफ्नो खातामा हाल्ने लेखा सहायकको जागिर खोसियो

रुकुम पश्चिम। रुकुम पश्चिममा त्रिवेणी गाउँपालिकाको बजेट आफ्नो खातामा हाल्ने लेखा सहायक जागिरबाट निकालिएका छन् । त्रिवेणी गाउँपालिकाका लेखा सहायक सुवास केसीलाई जागिरबाट निकालिएको हो । केसीले सरकारी बजेट आफ्नो, श्रीमती र भतिजाको खातामा हालेपछि गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको संयोजकत्वमा गठन गरेको छानबिन कार्यदलले केसीलाई जागिरबाट निकाल्ने निर्णय गरेको हो।

छानबिनको क्रममा केसीले आफ्नो, आफ्नो श्रीमती र लेखा सहायक सुवासको खातामा झण्डै २५ लाख रुपैयाँ जम्मा गरेको पाइएको छ । केसी गएको जेठ महिनादेखि गाउँपालिकाको लेखा सहायकमा करारमा नियुक्त भएका थिए। गाउँपालिकामै कार्यरत सुवासका अंकलसमेत रहेका लेखापाल हेमन्त केसीको सहयोगमा आफ्नो खातामा मात्रै गाउँपालिकाको सात लाख ९१ हजार रुपैयाँ रकम जम्मा गरेका थिए।

लेखापाल केसीले सुवासको तलब र भत्ताको लागि भन्दै गाउँपालिकामा जवाफ दिएका थिए । जेठ महिनामा करारमा नियुक्त भए पनि उनले फागुनदेखि नै महिनाको १ लाख ५६ हजारका दरले तलब र भत्ता बुझेको देखिएको कार्यदलले जनाएको छ । कार्यदलले लेखापालको नाममा गएको रकमको कागजात हेर्ने र जिल्ला प्रशासन कार्यालयले घटनाको छानबिन सुरु गरेकाले छानबिनमा सहयोग गर्ने निर्णय गरेको कार्यदलका सदस्य तथा गाउँपालिकाका उपाध्यक्ष निर्मला बिष्टले बताउनुभयो।

छानबिन हुँदै गर्दा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, उनकी श्रीमती बिर्मा र भतिजा सुवासको खातामा जम्मा भएको सरकारी रकम फिर्ता गरेका थिए । रकम आफन्तको खातामा हाल्ने लेखापाल र त्यस काममा सघाउँने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको समेत मिलोमतो भएको भन्दै कारबाही हुनुपर्ने माग स्थानीयले गर्दै आएका छन्।