‘कसैको घरमा पाहुना बन्न नजान, पाहुना पनि नबोलाउन’ सरकारको आग्रह

काठमाडौं। सरकारले कोरोनाको कहरकाबीच कसैका घरमा पाहुना नबोलाउन र पाहुना बनेर नजान पनि आग्रह गरेको छ । काठमाडौं लगायत मुलुकका केही जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले यस्तो आग्रह गरेको हो । सर्वसाधारणलाई अति आवश्यक काम नपरी घरबाट बाहिर नजान आग्रह गरेको छ।

“काठमाडौं उपत्यकाजस्तै घनाबस्ती भएका सहरहरुमा कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पत्रकार सम्मेलनमा भने, “कोरोना संक्रमित बढ्दै गए पनि पसल, कार्यालय, सार्वजनिक स्थान, सवारी साधनमा र खासगरी लाइनमा बस्दा कतिपय व्यक्तिहरुले जनस्वास्थ्यका मापदण्ड अपनाएको देखिँदैन।”

उनले खाद्यान्न, तरकारी र फलफूल पसलमा लापरवाही देखिने गरेको बताएका छन्। नजिकै गएर सामान किन्न हतार गर्ने, भिडभाड बढाउने जस्ता काम भएको र यसले जोखिम बढ्ने उनको भनाई थियो।

“बिना सावधानी अपनाइ हामी यातायतका साधनमा बसिरहेका छौं,” उनले भने, “पाहुना वा साथीभाइसँग हुहाल गरी चाडपर्व पनि मनाइरहेका छौं । कार्यालयहरुमा अझै पनि बैठक गर्ने, सभा सम्मेलन गर्ने कार्यलाई निरन्तरता दिइएको पाइन्छ । यस्तै स–साना व्यवहारहरु र हतार गर्ने बानीले नै हामीलाई कोरोनाको जोखिममा पारिरहेको छ।”

घर बाहिर निस्कदा अनिवार्य माक्सको प्रयोग गर्न पनि डा गौतमले आग्रह गरेका छन् । उनले सामान किनमेल गर्न जाँदा वा कसैलाई भेट्दा कम्तीमा दुई मिटरको दुरी राख्न पनि अपिल गरेका छन् । जथाभावी नथुक्न र बाहिरवाट आएपछि वा केही वस्तु छोएपछि कम्तिीमा २० सेकेण्ड साबुन पानीले हात धुन पनि आग्रह गरेका छन । स्वास्थ्य सुरक्षाका अभ्यासहरुसँगै अति आवश्यक काम नपरी घरबाहिर नजान पनि आग्रह गरेको छ।

प्रवक्ता डा। गौतमले भनेका छन्, “घरमा पाहुना नबोलाऔं र पाहुना बन्न पनि नजाऔं । यदि कोरोना संक्रमित स्थानबाट आउनु भएको छ वा विदेशबाट आउनुभएको छ भने अवश्य १४ दिनसम्म सरकारले बनाएको मापद’ण्ड पालना गरी क्वारेन्टिनमा बसौँ।”