वामदेवसँग दुई घण्टा छलफल, प्रधानमन्त्री भैंसेपाटीबाट फर्किए

काठमाडौं। सत्तारुढ नेकपाको विवादले उग्ररूप लिइरहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतमसँग दुई घण्टा लामो छलफलपछि भैंसेपाटी बालुवाटार फर्किएका छन्।

मंगलबार दिनभर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बालुवाटारमै घेराबन्दी गरेपछि ओली वामदेवलाई भेट्न साँझ ७ बजे भैंसेपाटी पुगेका थिए।

त्यहाँ करिब २ घण्टासम्मको संवादपछि ओली अहिले ९ बजे बालुवाटार फर्किएका हुन्। ओली फर्किए पनि उपाध्यक्ष गौतमसँग महासचिव विष्णु पौडेलले एक्ला एक्लै संवाद गरिरहेका छन्। उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले ओली र गौतमबीच करिब २ घण्टा संवाद भएको खुलाए। उनले संवादको विस्तृत विवरणबारे केही बताएनन्।

पछिल्लो समय दाहाल–नेपाल समूहमा रहेका भनिएका उपाध्यक्ष गौतमले मंगलबार ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि ओलीको पक्षमा आफूलाई उभ्याएका थिए। वामदेवको ६ बुँदे प्रस्तावले नेकपा दाहाल–नेपाल गुटमा तरंग ल्याएका बेला महासचिव विष्णु पौडेललाई साथमा लिएर ओली भैंसेपाटी पुगेका थिए।