बुद्ध एयरको होलिडे प्याकेज : ३ रात २ दिनको पोखराका लागि ६ हजार र चितवन ८ हजारमै घुम्न पाइने

काठमाडाैं। निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले ‘बुद्ध होलिडेज’ प्याकेज सार्वजनिक गरेको छ। एयरले ३ रात २ दिनको पोखरा र चितवनको लागि आकर्षक अफर सार्वजनिक गरेको हाे। एयरले नाफारहित आकर्षक पोखरा र रमाइलो चितवन प्याकेज ल्याएको छ। एयरले पोखरा तथा चितवनका होटलहरुको सहकार्यमा प्याकेज ल्याएको हाे। बुद्ध होलिडेज बुद्ध एयरको भगिनी संस्था हो।

अहिलेको परिस्थितिमा संक्रमणरहित यात्रा तथा पर्यटकीय प्याकेजका लागि बुद्ध होलिडेजले कोभिडविरुद्धका सुरक्षा निर्देशिका पनि तयार गरेको जनाएको छ। यसलाई अक्षरसः पालना गर्दै यात्रु तथा पर्यटकलाई संक्रमणरहित घुमफिरका लागि बुद्ध होलिडेजले अनुरोधसमेत गरको छ। कोभिडविरुद्धका सुरक्षा निर्देशिका सहयोगी कम्पनीहरुले जारी गरी पूर्वअभ्यास पनि गरिसकेका छन्। निर्देशिकाले जहाजदेखि पर्यटक गाडी तथा होटेल, रेष्टुरेण्ट र त्यहाँ रहेका कामदारलाई पनि समेटेको होलिडेजका सिइओ आस्था बस्नेत बताउँछिन्। आस्था भन्छिन्, ‘सुरक्षा निर्देशिकाको पालना गर्न गराउन हामी सम्वेदनशील रहेका छौं र यसको नियमित हामी स्वयंले अनुगमन गर्ने छौं।’

दुई रात तीन दिने पोखरा प्योकजको मूल्य ५ हजार ९ सय ९९ रुपैयाँ रहेको छ। यसमा दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाइँ, बिहानको खाजा, पोखरा एयरपोर्टबाट होटेल र फेरि फर्किँदा एयरपोर्टको गाडी सुविधा समावेश गरिएको छ। यसैगरी चितवनको पनि दुई रात तीन दिने प्योकजको मूल्य ७ हजार ९ सय ९९ रुपैयाँ रहेको एयरलाइन्सले जनाएको छ। यसमा पनि दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाइँ, बिहानको खाजा, चितवन एयरपोर्टबाट सौरहा होटेल र फेरि फर्किँदा एयरपोर्टको गाडी सुविधा समावेश गरिएको छ।

यसको मुख्य उद्देश्य सुरुमा आन्तरिक पर्यटकलाई चलायमान तथा प्रवर्द्धन गरी हामी र हाम्रा सेवा सुरक्षित छन् भन्ने देखाई विदेशी पर्यटकलाई समेत भित्र्याउनु रहेको कम्पनीकी सिइओ बस्नेतले बताइन्।