अन्योलमा उपाध्यक्ष गौतम

काठमाडौं। सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतम दोधारको स्थितिमा रहेका छन् । पार्टी भित्र विवाद बढ्दै जाँदा उनी प्रथम अध्यक्ष केपी शर्मा ओली कि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहमा रहने भन्नेमा दोधारमा परेका हुन् । प्रधानमन्त्री र अध्यक्षबाट ओलीसँग राजीनामा मागे गौतम अहिले सो मागबाट पछि हटेर ओली क्याम्पमा आफ्नो स्थान सुरक्षित राख्ने मनस्थितिमा छन्।

संघीय संसद सदस्य नरहेका गौतम प्रधानमन्त्री बन्ने लालसामा राष्ट्रिय सभा सदस्य हुँदै प्रधानमन्त्री बन्ने बाटो खुलाउन ओलीइतर नेताहरुलाई मनाएर संविधान संशोधन गर्ने पार्टीबाट निर्णय गराउनसमेत सफल भएका थिए । तर, प्रधानमन्त्री बन्ने व्यक्तिको चाहना पूरा गर्न संविधान संशोधन गर्न लागेको भन्दै चौतर्फी आलोचना र ओलीको अडानका कारण सो निर्णय अघि बढ्न सकेन।

गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीको राजीनामा माग्ने मध्येका एक नेता पनि वामदेव गौतम । गौतमसहित प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहित स्थायी कमिटी सदस्यहरुले ओलीको राजीनामा मागेका थिए।

ओलीको राजीनामा माग्दा एक भएका प्रचण्ड, नेपाल, खनाल र गौतम आफ्नो प्रतिरक्षामा देखिन्छन् । राजीनामा नदिने ओलीको अडान बलियो हुँदै जाँदा प्रचण्ड र गौतम आफ्नो रक्षामा लागेका छन् । सार्वजनिक रुपमा आफू प्रचण्ड समूहमै रहेका गौतम ओलीले राजीनामा दिनुपर्छ भन्ने माग अहिले आफ्नो नरहेको बताएका छन् । सो अभिव्यक्तिमा गौमत ओली समूहमा आफूलाई सुरक्षित राख्ने अभिप्राय देखिन्छ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्छ भन्ने आफ्नो माग नरहेको भन्दै गौतमले आफू अहिले पनि प्रचण्ड गुटमै रहेको बताएर आफूलाई दुवै समूहमा सुरक्षित बनाउन प्रयास गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा गौतमले भनेका छन्, ‘‘राजीनामा दिने की नदिने भन्ने कुरा उहाँ (ओली)ले नै जान्ने कुरा हो।

ओलीको राजीनामा माग्ने प्रस्ताव पार्टीको नरहेको प्रष्ट्याउँदै उनले जसले राम्रो प्रस्ताव ल्याउँछ आफू सोही समूहमा रहने पनि बताएका छन् । यसबारे उनले भनेका छन्, ‘राम्रो विचार र प्रस्ताव जसले ल्याउछ, म त्यसैको गुटमा हुन्छु ।’ केही हप्तादेखि राजनीतिक छलफल र भेटघाटनमा नदेखिएका उपाध्यक्ष गौतमले आफु स्थायी रुपमा कुनै गुटबन्दीमा नलाग्ने पनि पनि बताए।