बनारसको भाइरल भिडियोमा देखिएका व्यक्ति नेपाली नभएको पुष्टि

काठमाडौं। भारतको बनारसमा कपाल मुण्डन गरेर दुर्व्यवहार गरिएको भनिएका व्यक्ति नेपाली नभएको खुल्न आएको छ । प्रधानमन्त्री केपी ओलीले राम नेपालकै भएको बताएपछि वाराणसीमा विश्व हिन्दु सेनाले कपाल मुण्डन गरेर दुव्यर्वहार गरेको भनिएको व्यक्ति नेपाली नभएको बाराणसी प्रहरीले बताएको छ । बाराणसी प्रहरीका अनुसार भिडियोमा कपाल मुण्डन गरेर जय श्रीराम’ लेखिएका व्यक्ति भारतीय नागरिक भएको बताइएको छ।

प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको विरोधमा बनारसमा एक नेपालीको कपाल मुण्डन गरेर जय श्रीराम लेखेको भन्दै विश्व हिन्दु सेनाले सामाजिक सञ्जालमा भिडियो शेयर गरेको थियो । उनीहरुले उक्त व्यक्तिबाट जवरजस्ती आफ्नो संगठन र भारतको समर्थन र नेपालका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएको बताइएको थियो।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोका आधारमा वाराणसी प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको थियो भने विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध एफआईआर दायर पनि गरेको थियो । आज भने वाराणसी प्रहरीले भनेको छ ‘भिडियोमा देखाइएको व्यक्ति भारतीय नागरिक हुन् । उनको जन्म बाराणसीमा भएको थियो र परिवारका सदस्य सरकारी सेवामा छन्।’