मन्त्री महेश बस्नेत द्वारा कुलमान घिसिङमाथि अख्तियार लगाएर छानबिन गर्न माग

काठमाडौँ। सत्तारुढ नेकपाका सांसद तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियार लगाएर छानबिन गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको शून्य समयमा सांसद बस्नेतले सार्वजनिक लेखा समितिले पनि घिसिङमाथि छानबिन गर्नुपर्ने माग गरेका हुन् । प्राधिकरणले ९ अर्ब बढी बक्यौता नउठेको विषयमा नेकपा सांसद अमनलाल मोदीले प्रश्न सोध्दा नानाथरी आरोप लगाएको भन्दै घिसिङलाई छानबिन गर्न बस्नेतले माग राखेका हुन् ।

‘सार्वजनिक लेखा समितिको बैठकमा माननीय अमनलाल मोदीले विद्युत् प्राधिकरणको ९ अर्ब बक्यौताको बारे प्रश्न उठाउनुभयो । त्यसैगरी भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट आएको २२५ मेगावाट विजुली प्रयोग गरेपनि नगरेपनि ६ दशमलव ६८ पैसा आईसी तिर्नुपरेकोबारे प्रश्न उठाउनुभयो ।

यो प्रश्न उठाएपछि केही मिडिया र सामाजिक सञ्जालमा तल्लो स्तरमा गाली गरियो । स्वयं कुलमानले मलाई घेराबन्दी गरियो र अनेक आरोप लगाइयो भनेको पनि सुनियो । कुलमानजीले गरेका राम्रा काममा हामी सबैको साथ, सहयोग र समर्थन छ । माननीय अमनलाल मोदीजीले उठाउनुभएको विषय गम्भीर छ । यसमा सम्बन्धित निकाय अख्तियार दुरुपयोग आयोग र सार्वजनिक लेखा समितिले उचित छानबिन गरोस् र दोषीहरूलाई कारवाही गरोस् भन्न चाहन्छु,’ उनले भने ।

लेखा समितिको बैठकमा केही दिन पहिले कुलमान र सांसद मोदीबीच भनाभन भएको थियो ।