चीनले अमेरिकी नागरिकलाई जागिरबाट निकाल्यो,ट्रम्पको त फोन पनि उठाउँदिन : रेन

एजेन्सी। अमेरिकाले आफूलाई कालो सूचीमा राखेपछि चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेले अमेरिकी नागरिकलाई जागिरबाट निकालेको छ । फाइनान्सियल टाइम्स पत्रिकाका अनुसार केही साताअघि नै हुवावेको केन्द्रीय कार्यालय सेञ्जेनमा काम गर्ने अमेरिकी नागरिकलाई जागिरबाट निकालेको हो ।

हुवावेका प्रमुख रणनीतिक आर्किटेक्ट दांग वेनसुवानलाई उद्धृत गर्दै उक्त पत्रिकाले रिसर्च एण्ड डेभलपमेन्ट विभागमा कार्यरत थुप्रै अमेरिकी नागरिकलाई दुई साताअघि नै फिर्ता पठाइएको उल्लेख गरेको छ ।
हुवावेले आफ्ना कर्मचारीलाई अमेरिकीहरूसँग कुनै पनि प्रकारको प्राविधिक बैठक नगर्न निर्देशन पनि दिएको छ ।

यसअघि हुवावेका प्रमुख रेन झेङफेईले अमेरिका–चीन व्यापार वार्तामा आफू सहभागी नहुने बताएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशको व्यापार वार्तामा हुवावेलाई समावेश गर्न सकिने बताएपछि रेनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

ब्लुमवर्ग टेलिभिजनलाई दिएको अन्तर्वार्तामा रेनले भनेका छन्, ट्रम्पको त्यो प्रस्ताव आफैंमा ठूलो जोक हो । अमेरिकाले कहिल्यै पनि हाम्रा सामान किनेको छैन । भविष्यमा उसले किन्न चाह्यो भने पनि म उनीहरूलाई सामान बेच्ने छैन । त्यसैले नेगोसियसनको कुनै जरूरी छैन ।

उनले ट्रम्पले आफूलाई वार्ताका लागि बोलाए पनि वेवास्ता गरिदिने बताए ।
‘उनले मलाई फोन गरे पनि म उठाउदिनँ, हुन त उनीसँग मेरो नम्बर पनि छैन । मैले उनको ट्वीट देखें र हाँसेँ किनकी उनको भनाइ आफैंमा विरोधाभाषपूर्ण छ,’ रेनले भने ।

ट्रम्पले गत बिहीबार अमेरिका–चीनबीचको व्यापार वार्तामा हुवावेको भूमिका हुन सक्ने बताएका थिए ।
संसारको दोस्रो स्मार्ट फोन निर्माता र नयाँ पुस्ताको फाइभजी नेटवर्क विस्तारमा आक्रामक हुवावेलाई केही समयअघि ट्रम्पले अमेरिकामा प्रतिबन्ध लगाएका थिए ।

हुवावे राष्ट्रिय सुरक्षामा खतरा हुने भन्दै उनले अमेरिकी कम्पनीहरूलाई हुवावेसँग कारोबार नगर्न पनि निर्देशन दिएका थिए । ट्रम्पको निर्देशन अनुसार अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले हुवावेका नयाँ फोनमा जिमेल, गुगल म्याप, युट्युब लगायत सुविधा नदिने बताएको छ भने चलिरहेका फोनमा पनि सफ्टवेयर अपडेट नहुने पारेको छ ।

अमेरिका र चीन झन्डै ९ महिनादेखि व्यापार युद्धमा छन् । बेइजिङ र वासिङ्टनमा ११ पटकसम्म भएका वार्ता असफल भएपछि पछिल्लो समय दुबैले अर्को देशबाट आयात हुने सामान कर बढाएका छन् ।