अपिल त्रिपाठीले नेपाल टेलिकमविरुद्ध मुद्दा जिते

काठमाडौं। चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरुले दोस्रो रवि लामिछानेको उपमा दिएका छन्, पोखराका पत्रकार अपिल त्रिपाठीलाई । अपिलको ब्राण्डेड कार्यक्रम गण्डकी छड्के गण्डकी टेलिभिजनबाट प्रसारण हुन्छ । यो कार्यक्रम, दश वर्ष अघिको कार्यक्रम हो । उनले कुनै कार्यक्रमबाट प्रभावित भएर गण्डकी छड्के सुरु गरेका थिएनन् । यो कार्यक्रम गण्डकी मिडिया हाउसकै रेडियो गण्डकीको उत्पादन हो ।

कामकै कारण अपिल दोस्रो रवि लामिछानेका रुपमा देश विदेशमा चर्चित छन् । युट्युबमा सो कार्यक्रम फलानो न्यूज च्यानलमा अपलोड हुने गर्दछ । त्यसमा अपलोड गरिएका भिडियो हेर्ने फ्यानहरु बढ्दैछन् । अपिलले बेथिति, भ्रष्टाचार विरुद्ध सामाग्री पस्कदैं आएका छन् । गण्डकी छड्के पुरानै कार्यक्रम हो, तर ढिलो मात्र चर्चामा आयो । चर्चामा ल्याउन एउटा प्रकरण टर्निङ प्वाईन्ट बन्यो । त्यो हो, नेपाल टेलिकमले उल्टै दायर गरेको मुद्धा ।

सेवाग्राहीले आफू ठगिएको महसुस गरी क्षतिपूर्ति पाउँ भनी कानुनी रुपमा अघि बढ्दा टेलिकम अदालत पुग्यो । अपिलकै भनाइ अनुसार उनी आफू पत्रकार भएर होइन, सेवाग्राहीकै हिसाबले अघि बढेका थिए । उनले आफूले व्यक्तिगत प्रयोजनका लागि जोडेको टेलिफोन महिना बितिसक्दा समेत मर्मत गर्न नआएको, सेवा प्रवाह चुस्त नभएको भन्दै उपभोक्ताको अधिकार प्रयोग गरेका थिए । कान्तिपुर टेलिभिजन र आफ्नो मिडियामार्फत यो विषय भाइरल बन्यो ।

अन्ततः नेपाल टेलिकमले उल्टै फेरि अपिल विरुद्ध नै मुद्धा हाल्यो । यसै प्रकरणपछि अपिल त्रिपाठी चिन्न थालियो । उनी गण्डकी छड्के कार्यक्रम मार्फत छाउँदै गए । अहिले युट्युब हेर्न कमैले अपिललाई नचिन्लान् । देश विदेशमा उनका समर्थक बढ्दैछन् । समर्थकलाई खुशीको खबर छ, अपिल त्रिपाठीले दोस्रो पटक आफू विरुद्धको मुद्धा जितेका छन् । मुद्धाको टुंगो लागेपछि अपिलले फेसबुकमार्फत आफ्ना भनाइहरु सार्वजनिक गरेका छन् ।