नेपालमा भारतीय न्यूज च्यानलको प्रशारण रोक्ने निर्णयबारे जानकारी छैनः सञ्चार मन्त्रालय

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय न्यूज च्यानलको प्रशारण रोक्ने निर्णयबारे मन्त्रालयलाई जानकारी नरहेको बताएको छ। मन्त्रालयले भारतीय न्यूज च्यानलले नेपालबारे घृणा फैलाउने गरी आपत्ति जनाउने सामग्री प्रकाशित गरेको जानकारी रहेको र यसबारे मन्त्रीले आफ्नो धारणा स्पष्ट पारिसकेको भन्दै न्यूज च्यानलको प्रशारण नै रोक्नेबारे कुनै जानकारी नरहेको स्पष्ट पारेको हो।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीले मन्त्रालयले कसैलाई पनि भारतीय न्यूज च्यानलको प्रशारण गर्नलाई निर्देशन नदिएको भन्दै केही केवल अपरेटरहरुले यसबारे निर्णय लिएको बारे आधिकारिक जानकारी नरहेको रातोपाटीलाई जानकारी दिए । ‘मन्त्रालयले कसैलाई यसबारे निर्देशन दिएको छैन र समन्वय पनि भएको छैन’, तिवारीले रातोपाटीसँग भने, ‘मन्त्रीज्यूले बिहीबारको पत्रकार सम्मेलनमा जे भन्नुभएको छ त्योबाहेक जानकारी छैन।’

बिहीबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री डा युवराज खतिवडाले भारतीय सञ्चार माध्यममा प्रधानमन्त्री र नेपाललाई जोडेर आउका विषयवस्तु प्रति सरकारको ध्यानाकर्षण भएको जनाएका थिए । प्रवक्ता खतिवडाले मिडियाहरुमा प्रतिवन्ध लगाउनुभन्दा आफै अनुशासनमा बस्ने भएपनि त्यसो हुन नसके कुटनीतिक संयन्त्र परिचालन गर्नुपर्ने बताएका थिए।

राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र राष्ट्रहितमा आँच आउने गरी कुनै पनि सामग्री प्रकाशन र प्रशारण नगर्न आग्रह गर्दै उनले भारतीय मिडियाहरुमा देखिएको पछिल्लो प्रवृतिका लागि राजनीतिक र कानूनी उपचार खोज्नुपर्ने बताएका थिए । भारतीय टिभी च्यानल जी न्यूजले प्रधानमन्त्री केपी शर्मा र चिनियाँ राजदूतलाई जोडेर आपत्तिजनक सामग्री प्रकाशित गरेपछि भारतीय मिडियाको चौतर्फी विरोध हुँदै आएको छ।

सोही सामग्रीलाई लिएर प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघले पनि कडा आपत्ति जनाएको छ । भारतीय मिडियाले पत्रकार आचारसंहिता विपरित सामग्री प्रशारण गरेपछि केही केबल अपरेटरहरुको बैठकले स्वतस्फूर्त रुपमा भारतीय न्यूज च्यानल बन्द गर्ने घोषणा गरेको बताइएको छ । बिहीबार साँझदेखि भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले सञ्चारमाध्यमलाई बताएका छन् । तर निर्वाधरुपमा भारतीय न्यूज च्यानल प्रशारण भइरहेकाे पाइएकाे छ।