आगामी ४ दिन मनसुनी गतिविधि बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं। बिहीवारदेखि आइतवारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी ४ दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

उनका अनुसार प्रदेश नम्बर १, २, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । ‘मनसुनको समय अझै बाँकी नै छ, त्यसैले यसलाई वर्षकै ठूलो वर्षा भिन्न मिल्दैन,’ मौसमविद् मानन्धरले भनिन्।

असार २५ देखि २८ गतेसम्म प्रदेश नम्बर १, २, वाग्मती र गण्डकी प्रदेशमा मनसुन शुरू भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान गरिएको छ । मौसमविद्का अनुसार मनसुनको समयमा १०० मिलिमिटरदेखि माथिको वर्षालाई भारी वर्षा भनिन्छ । अरु समय ५० मिलिमिटरसम्मको वर्षालाई पनि भारी वर्षा भनिन्थ्यो । अहिले मनसुनको समय भएकाले ५० मिलीमिटरसम्मको वर्षालाई नै हल्कादेखि मध्यम भन्ने गरिन्छ।

यस वर्ष वैशाखदेखि हालसम्म प्रशस्त पानी परिहरेकाले भारी वर्षाले बाढी, डुबान र पहिरोको जोखिम बढाइदिएको छ । पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना रहनुका साथै कतिपय ठाउँमा पहिरोसमेत जान सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकले सतर्क रहन सबैमा आग्रह गरेको छ।

शुक्रवारदेखि आइतवारसम्म कन्काई, कोशी, कमला, वाग्मती, नारायण्ी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढीको खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ । ‘खासगरी प्रदेश नम्बर १ र २ का चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरूमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका वासिन्दालाई विशेष सतर्कता रहन आग्रह गर्दछौं,’ प्राधिकरणले एक सूचना जारी गरी भनेको छ।

प्राधिकरणका अनुसार ठूला नदीनालामा आउने बाढीबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर ११५५ र आपतकालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्री नम्बर ११४९ उपलब्ध हुनेछ । रासस